logo

२०८२ बैशाख ८ सोमबार

logo
  • सोमबार, ८ बैशाख २०८२
  • जाजरकोट भूकम्प : चर्किएका घर भत्किए, मानवीय क्षति छैन

    जाजरकोट भूकम्प : चर्किएका घर भत्किए, मानवीय क्षति छैन

    78
    SHARES
    जाजरकोट भूकम्प : चर्किएका घर भत्किए, मानवीय क्षति छैन

    २२ चैत, जाजरकोटमा शुक्रबार साँझ गएको भूकम्पले पहिले नै चर्किएका घरहरू भत्किएका छन् । तर कुनै पनि मानवीय क्षति भने नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।

    उनका अनुसार जिल्लाको कुशे, जुनिचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा केही घरहरू भत्किएका छन् । ‘अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको विवरण आएको छैन,’ उनले अनलाइनखबरसँग फोनमा भने, ‘तीन वटा पालिकामा गत वर्षको भूकम्पले चर्किएका घरहरू नै भत्किएको पाइएको छ । केही अन्य घरहरू पनि चर्किएका छन् ।’

    प्रहरीको टोलीले अन्य क्षतिको विवरण सङ्कलन गरिरहेको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको थियो ।

    भूकम्पपछि त्रासले सडकमा निस्किएका नागरिकहरू ।
    जाजरकोटको कुसे गाउँपालिका–९ पैक केन्द्रबिन्दु भएर छुट्टाछुट्टै धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    नलगाड नगरपालिका वडा नम्बर ४ मा पहिले नै चर्किएका घरहरू भत्किएको वडाध्यक्ष बद्री पन्तले बताए ।

    ‘गाउँमा चर्किएका घरबाट मान्छेहरू बाहिर आएर बस्न थालेका छन्,’ वडाध्यक्ष पन्तले अनलाइनखबरसँग भने, ‘मान्छेहरूमा अझै ठूलो भूकम्प जान्छ कि भन्ने त्रास छ । अस्थायी टहरामा गएर सुत्न थालेका छन् ।’

    भूकम्पले चर्किएको घर ।
    गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामिडाडाँलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो । उक्त भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिमका १२८ जनाको ज्यान गएको थियो ।

    वडाध्यक्ष पन्तका अनुसार गत वर्षको भूकम्पले जाजरकोटका अधिकांश घरहरू चर्किएका छन् । समयमै पूर्ण निर्माण नहुँदा गत हिउँदमा मान्छेहरू चर्किएकै घरमा फकिएका थिए ।

    आज फेरि भूकम्पको धक्का महसुस भएपछि त्रसित स्थानीयहरू चर्किएका घरहरू छाडेर अस्थायी टहरामा सुत्ने तयारी गरेका छन् । ‘यहाँ कुनै ठूलै क्षति त भएको छैन । तर स्थानीयहरूमा त्रास फैलिएको छ,’ उनले भने ।

    भूकम्पको केन्द्रबिन्दु मानिएको पैकमा पनि नयाँ घरहरू चर्किएका छन् । स्थानीयहरू पुनः भूकम्प आउने जोखिममा घर बाहिर निस्केको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । त्यहाँ घरहरू चर्किए पनि मानवीय क्षति नभएको अध्यक्ष बस्नेतले बताए ।

    ‘केही नयाँ घरहरू चर्किएका छन् । फेरि भूकम्प जाने डरले स्थानीयहरू घर बाहिरै छन् । क्षतिको यकिन विवरण भने आएको छैन,’ अध्यक्ष बस्नेतले भने ।

    भूकम्प मापन केन्द्र सुर्खेतअनुसार भूकम्पको धक्का छिमेकी जिल्ला सल्यान, रुकुम पश्चिम, सुर्खेत, दैलेख आसपासमा महसुस गरिएको थियो । आज गएको भूकम्पबाट के कति क्षति भयो भन्ने बारे थप विवरण आइसकेको छैन ।


    टुरिजम सञ्चार
  • शनिबार, २२ चैत्र २०८१
  • सम्बन्धित समाचार