सर्वसाधारणका लागि वैशाख १८ देखि मौलाकाली सञ्चालनमा आउने

  • टुरिजम सञ्चार
  • शनिबार, बैशाख १६, २०८०
  • Maulakalika

    काठमाण्डौ । मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो ।

    केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ ।

    केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ । केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् । केबलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ ।

    नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ । त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रा।लिद्वारा प्रवर्द्धित अर्को केबलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको वसन्तपुरमा निर्माणाधीन रहेको छ ।

    उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमुना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 Tourismsanchar.com All right reserved Site By : Epic Media P. Ltd.