नेपाल एयरलाइन्सलाई चीनले दियो उडान अनुमति

  • प्रकाशित मिति : December 5, 2019
  • टुरिजम सञ्चार

काठमाण्डौ, मंसिर १९ । चीनले नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि अनुमति मागेको थियो ।

सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनले जानकारी दिए । यसअघि नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेर मात्रै अनुमति दिने चीनले बताए पनि पछि त्यो आवश्यक ठानेन । चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विदेशी वायुसेवा कम्पनीलाई उडान अनुमतिका रुपमा अपरेशन स्पेसफिकेसन जारी गर्ने गर्छ । उक्त पत्र प्राप्त गरेसँगै वायुसेवा कम्पनीले चीनमा उडानको अनुमति पाउने प्रावधान रहेको छ ।

नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण इयूको कालोसूची रहे पनि चीनको अनुमति प्राप्त भएको हो ।