उपल्लो मुस्ताङसम्म अब बाह्रै महिना सवारीसाधन चल्ने

  • प्रकाशित मिति : September 7, 2019
  • टुरिजम सञ्चार

मुस्ताङ,भदौ २१ । हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महिना नियमित यातायातका साधन चल्ने भएका छन्।

उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भई सोमबारदेखि सञ्चालनमा आएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट बाह्रै महिना सिधैँ लोमान्थाङ पुग्न सकिने भएको हो।

निर्माणाधीन पुललाई गत साउनमा कालीगण्डकीमा आएको बाढीले क्षति पु¥याएपछि निर्माण अवधि लम्बिएको हो। पुलको संरचना निर्माण भएपछि तीन वटा डोजर परिचालन गरी १२ दिनमा पुलको दुईतर्फी ट्याक खोलिएको करिडोर सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । अध्यक्ष तुलाचनका अनुसार मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोला पुल सञ्चालनमा आए पनि कागबेनीमा निर्माणाधीन २५ मिटर लामो पुल निर्माणमा भने ढिलाइ भएको छ। मुस्ताङ गेटमा सञ्चालनमा आएको पक्की पुलको काम लोकल रोड ब्रिज प्रोग्राम एलआरबिपिले २०७१ सालमा शुरु गरेको हो। रु चार करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाइ ७६ मिटर छ। रासस