संस्थानै नवीकरण नगरी भोलि हुदै ‘टान’ निर्वाचन

  • प्रकाशित मिति : September 5, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, भदौ १९। ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१ औ साधारणसभा संस्था नवीकरण बिनै हुन लागेको छ । बिगत दुई वर्षदेखि नवीकरण हुन नसकेको टानको भदौ २० गते ४१ औ साधारणसभा तथा नयाँ नेत्रत्वको लागि निर्वाचन हुदैछ ।

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बिक्रीवापतको शुल्कको राजस्व नबुझाएपछि टान विगत दुई वर्षदखि नवीकरण हुन नसकेको हो ।

राजस्व नबुझाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले टान नवीकरण नगरेको बताइएको छ। टिम्स बिक्रीवापतको लिएको शुल्कको २५ प्रतिशतले हुन आउने आम्दानी राजस्व टानले बुझाउनु पर्छ ।

टानले बुझाउनु पर्ने १ करोड ८५ लाख आम्दानी कर नतिर्दा दुई वर्षदेखि नवीकरण हुन नसकेको हो । टान नवीकरणबिनै संचालन हुदै आएपछि यसले गर्दै आएको काम तथा निर्णयको बैधानिकता माथि प्रश्न उठ्ने सरोकारवालाले बताएका छन्।

टानको नवीकरणको लागि प्रकिर्या आगाडी बढी सकेको टानका अध्यक्ष नवराज दाहालले जानकारी दिएका छन् । नवीकरणनै नगरी चलेको टानले गरेका निर्णय त अबैधानिक होला नि भन्ने हाम्रो प्रश्नमा उनले पर्यटनसंग सम्बन्धित अन्य सस्था पनि नवीकरणबिनै चलिरहेको बताए ।

नवीकरणबिनै टानको भदौ २० मा हुने ४१ औं साधारणसभा हुन्छ त भन्ने अर्को प्रश्नमा अध्यक्ष दाहालले त्यति बेलासम्म नवीकरण हुने तर नवीकरण हुन नसके पनि साधारणसभालाई कुनै असर नपर्ने दावी गरेका छन्।

राजस्वले पटक-पटक ताकेता गर्दा पनि टानले राजस्व तिर्न आलटाल गरेको श्रोतले जानकारी दिएको छ । राजस्व तिर्नु पर्ने पैसा टानकै एक पदाधिकारीको व्याक्तिगत खातामा जम्मा गरेर राखेको पनि श्रोतले बताएको छ ।

टानको आगामी नेतृत्वको लागि अध्यक्षमा वामपन्थी समूहबाट अन्जन थापा र प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदीबीच पर्तिस्पर्धा हुने भएको छ ।