भैरहवा विमानस्थल निर्माणको अवधि तेस्रो पटक थपिँदै, लागत नबढ्ने

  • प्रकाशित मिति : June 20, 2019
  • टुरिजम सञ्चार

काठमाडौँ, असार ५। रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि तेस्रो पटक थपिने भएको छ। अवधि थपिए पनि लागत रकम भने नबढ्ने भएको छ।

भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई तेस्रोपटक म्याद थप गर्ने तयारी गरिएको हो।

करिब ६ महिना म्याद थपको प्रस्ताव आयोजनाले गरेको छ। यही जुलाईसम्म समय पाएको कम्पनीले म्याद थप भएमा सन् २०१९ को डिसेम्बर अर्थात २०७६ पुस १५ सम्म समय पाउने छ।

ठेकेदार कम्पनीले निर्माण अवधि केही समय थप गर्न माग गरेअनुसार आयोजनाले नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरिसकेको छ।

तर म्याद थप भएपनि शुरुको सम्झौता रकम ६ अर्ब २२ करोड ५१ लाखमै निर्माण पुरा गर्नुपर्ने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। ‘म्याद थप भएपछि भेरियसनको सम्भावना छ भनेर जुन किसिमको हल्ला गरिएको छ, त्यो यथार्थ होइन’ अधिकारीले भने।

यसअघि २ पटकसम्म निर्माणको लागि समय थप गरिएको थियो। दोस्रोपटक म्याद थप भएपछि गत वर्षमात्र साढे ९ प्रतिशतको भेरियसन पास गरिएको थियो। यो भेरियसन थप कामका लागि रहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए।

भेरियसन पासपछि आयोजनाले ५६ करोेड बढी बजेट उपलब्ध गराई धावनमार्गमा विद्युतीकरण तथा लाइट जडान र मार्किङका लागि काम अघि बढाएको छ। यो रकमसँगै आयोजनाको लागत करिब ७ अर्ब पुगेको छ।

तेस्रोपटक म्याद थप भएपनि लागत नबढ्ने बरु ठेकेदारलाई जहाज पार्किङ स्थलसम्म आउने बाटो पुरानै बजेटबाट एउटा थप बनाउन भनिएको अधिकारीले बताए।

२०७१ सालबाट निर्माण सुरु गरिएको विमानस्थल २०७४ सालमै सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको थियो। ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको आपसी मतभेद, तराई–मधेश आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामाग्रीको अभाव जस्ता कारणले आयोजना पछि धकेलिएको छ।