मानव बस्तीको विकास सँगै वातावरणमा विनास उत्पन्न : मन्त्री लम्साल

  • प्रकाशित मिति : June 16, 2019
  • टुरिजम सञ्चार

पोखरा ,असार १। गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले सबै कुराको विकल्प रहेको तर वातावरणको विकल्प नभएको बताएका छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभागले शनिबार पोखराको लेकसाइडमा आयोजना गरेको स्वच्छ वातावरण महाअभियानका लागि अभियन्ता तथा कलाकार सहितको सडक प्रदर्शनी तथा सरसफाई अभियान सांस्कृतिक कार्यक्रम तथा जनचेतना अभिवृद्धि कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री लम्सालले वातावरण स्वच्छ राख्नुपर्नेमा जोड दिए । निसर्थ रुपमा वातावरण स्वच्छ राख्नु सबैको जिम्मेबारी भएको उनले बताए । “हामीलेनै वातावरण बिगार्दै गएका छौ,पोखरीले भरिएको पोखरा वरपिपलले भरिएको पोखरा आज मासिदै गएको छ । मानव बस्तीको विकास सँगै वातावरणमा विनास उत्पन्न भएको छ । अब यस्तो हुनुहुदैन । नियन्त्रण गर्नुपर्छ ।

सबै मिलेर वातावरण जोगाउन पर्छ । घरआगन सफा राख्नु पर्छ ।”—उनले भने । प्रदेशका प्रत्येक गाउँमा बाटिका बनाएर रुखहरुको संरक्षण गर्न सरकार ऐननै बनाएर अघि बढने उनले बताए । मन्त्री लम्सालले वातावरण सफा राख्ने जस्तो महत्वपूर्ण संवेदनशील विषय सिधै मानवको स्वास्थ्यसँग सम्बन्ध राख्ने हुँदा विद्यालयहरुमा पनि वातावरण सम्बन्धि नैतिक शिक्षाको आवश्यक रहेको औंल्याए ।

उनले यसका लागि विद्यालयले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न सक्ने बताए । मुखले मात्र नभई अब हर नागरिक सकरात्मक सोच सहित वातावरण संरक्षणमा लाग्नुपर्ने उनको भनाई थियो ।