ललितपुर, बैशाख २८ । ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेका छन ।
वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन उक्त दिन विदा दिने निर्णय गरिएको महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै गोदावरी नगरपालिकाले पनि उक्त दिन सार्वजनिक निर्णय गरेको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई कला, साहित्य र संस्कृति मार्फत चिनाउन महत्वपूर्ण निर्वाह गरेका जोशीको ललितपुर महानगरले वैशाख ३० बाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ ।
उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको ¥याली मंगलबारबाट सुरु हुनेछ । लगनखेल , जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरिने जनाइएको छ ।
उक्त ¥याली र कार्यक्रममा सहभागि हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ । । यसैगरी महानगरले जोशीको दैनिक जीवनयापनलाई सहज बनाउन दुई वर्ष अघि मोटर, सवारीचालक, गार्ड र मोवाइल प्रदान गरेको थियो ।