रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

  • प्रकाशित मिति : May 5, 2019
  • टुरिजम सञ्चार

ललितपुर,वैशाख २२। रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ । आज अपराह्न ललितपुरको टंगालबाट रथायात्रा सुरु गरिनेभएको हो । हरेक वर्ष वैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा लगेर विराजमान गराइन्छ ।
रिती अनुसार मच्छिन्द्रनाथलाई टंगालबाट बाजासहित पुल्चोक लगिनेछ। त्यसपछि विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि रथयात्रा सुरु हुनेछ ।

रथ बुधबार तानिने
यही २५ गते बुधबार मच्छिन्द्रनाथको रथ पुल्चोकबाट गाबहालतर्फ तानिने भएको छ । पहिलो दिन गाबहाल हुँदै मङ्गलबजार, सुन्धारा, थापाहिटी, लगनखेल अनि जावलाखेल पुर्‍याइने चलन छ । करीब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्रा हो । यो जात्रा दुई महीनासम्म मनाउने चलन छ । प्राचीनकालमा नेपालमा पानीको हाहाकार भएपछि लिच्छविकालीन राजा नरेन्द्र देव, ललितपुरका ज्यापू र प्रसिद्ध तान्त्रिक बन्धुदत्त बज्राचार्यले भारतको कामारुपकामाक्षबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याई वर्षा गराएको किंवदन्तीमा उल्लेख छ ।

मच्छिन्द्रनाथको रथ सिङ्गारपटार गर्ने र मजबुत बनाउने बाह्र ञ्वालको टोलीले मच्छिन्द्रनाथको रथ बनाउने सम्पूर्ण काम गर्ने गरेको गुठी संस्थान ललितपुरले जनाएको छ । संस्थानले ञ्वाललाई रथ निर्माणको काम गरेवापत यस वर्ष दैनिक ज्याला रु एक हजार ३२० दिएको छ । त्यसमा प्रत्येक व्यक्तिलाई जात्रा अवधिभर दुई मुरी धान दिने चलन पनि रहेको बताइन्छ ।

पानेजुबाट वर्षदिन पूजा
मच्छिन्द्रनाथको रेखदेख र पूजा गर्ने पुजारीलाई ‘पानेजु’ भनिन्छ । वर्षदिनभरि मच्छिन्द्रनाथको पूजा गर्न ३२ जना पानेजु सङ्घ गठन गरिएको गुठी संस्थानले जनाएको छ ।तिथिअनुसार हरेक १५ दिनको हाराहारीमा पानेजु परिवर्तन हुने नियम हुन्छ भने जात्रा अवधिभर दुईजना पूजारी रहन्छन।

ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मतीमा रहेको हजारौँ रोपनी गुठीको जग्गाबाट आएको आयस्ताबाट पानेजुले जीवन निर्वाह गर्ने नियम बनेको बताइन्छ।

पैताला देखाएर शयन
नेवारी परम्परानुसार मच्छिन्द्रनाथलाई पुजारीको पैताला देखाएर सुत्ने चलन छ । भगवान्सँग राक्षस खाना माग्न आउँछन् भन्ने विश्वासले गोडा फर्काएर सुत्ने चलन रहेको मन्दिरका ५८ वर्षीय पुजारी भुवनराज शाक्यले बताए।

मच्छिन्द्रनाथ पूजा गर्ने पालो परेको अवधिभर त्यहाँ रहने पुजारीले २४ घण्टामा एक छाक खाने चलन छ । खाना खाँदा खाएको लुगाले मन्दिर प्रवेश गर्नु नहुने शाक्य बताउछन्।

वैशाख २५ गते रथलाई पुल्चोकबाट तानेर गबहाल पुर्‍याईन्छ । गाबहाल पुगेपछि मच्छिन्द्रनाथको रथलाई अगाडि राखेर नगर परिक्रमा गराउने परम्परा छ। रथलाई जेठको तेस्रो हप्तासम्ममा जावलाखेल पुर्‍याउने गुठी सस्थानले जनाएको छ। रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर यात्रा समापन गरिन्छ।