पाकिस्तानको फैसलाले भारतीय एयरलाइन्सलाई करोडौं घाटा

  • प्रकाशित मिति : May 4, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख २१। पाकिस्तानको कारण भारतीय एयरलाइन्सले दैनिक छदेखि दस करोड नोक्सान व्योहोर्नु परेको छ । २६ फरबरीदेखि अहिलेसम्म भारतीय विमान कम्पनीहरुले ३०० करोडभन्दा बढि नोक्सान व्यहोर्नुपरेको तथ्य बाहिरिएको हो । भारतबाट जाने आउने विमानको लागि पाकिस्तानले एयर स्पेस बन्द गरिदिएको कारण भारतीय एयर कम्पनीलाई घाटा भएको हो ।

गत फेब्रुअरी २६ मा भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा हमला गरेसँगै पाकिस्तानले एयर स्पेस बन्द गरिदिएको थियो । अहिलेसम्म भारतको तर्फबाट आउने जाने सबै विमानहरुको लागि पाकिस्तानको एयर स्पेस बन्द छ ।

यी उडानलाई असर
यसको सिधा असर भारतबाट पश्चिम देशतर्फ जाने विमानहरुलाई बढि परेको छ । यसअघि भारतीय विमानले पाकिस्तानको एयर स्पेस प्रयोग गर्ने गर्दथे । जसको कारण इन्धन र समयको बचत हुने गर्दथ्यो । खासगरि युरोपका देशहरुमा जाने आउने विमानको लागि यो मार्ग सबैभन्दा बढि उपयुक्त थियो । तर पाकिस्तानले एयर स्पेस बन्द गरिदिएपछि विमानहरुले वैकल्पीक मार्गको प्रयोग गर्न बाध्य भएका छन् । जसको कारण इन्धन र समय बढि खर्चिनुपरेको छ ।

नोक्सान अझै बढ्न सक्ने 
पछिल्लो समय एयरलाइन्सको नोक्सान अझै बढ्ने देखिएकाे छ । इन्धनको मूल्यमा बृद्धिभएसँगै एयर कम्पनीहरुलाई झन नोक्सान हुन थालेको हो । पछिल्लो समय इन्धन ६६८ प्रति लिटरबाट बढेर ७०० भारतीय रुपयाँ पुगेकाे छ । जसको कारण एयर कम्पनीहरुलाई अझ नोक्सान बढ्नेछ । यदि अझै पनि पाकिस्तानी एयर स्पेस भारतीय एयरलाईन्सको लागि नखोलिएमा नाेक्सानी बढ्न जाँदा भारतीय एयर कम्पनीहरु समस्यामा पर्न जाने देखिन्छ ।

वैकल्पीक मार्गको कारण समय र इन्धन खर्च दोब्बर

अहिले युरोप या अमेरिका जाने विमान ओमानको बाटो हुँदै जान बाध्य भएका छन् । पाकिस्तानको एयर स्पेस प्रयोग गर्न नपाउँदा सबैभन्दा बढि घाटा बेलायतको लण्डन जाने विमानलाई परेको छ । लण्डनबाट सिंगापुर जाने विमानको लागि दुरी करिब साढे चार सय किमि बढ्न गएको छ । यसको बाहेक हैदराबादबाट लण्डन जाने विमानको लागि समय बढेर १०देखि १५ घण्टासम्म लागेको छ । पाकिस्तानी एयर स्पेस खुल्ला नहुँदा भारतीय एयरलाई युरोप पुग्न औसत ९०० किमिभन्दा बढी दुरी पार गर्नुपरेको बताइएको छ । जसको कारण समय पनि बढि लागेको छ ।

यसलाई पर्यो बढि असर

युरोप तथा अमेरिका जाने उडान भारतबाट एकमात्र कम्पनी एयर इण्डियाले गर्दै आएको छ । पाकिस्तानको प्रतिबन्धको कारण सबैभन्दा बढि असर एयर इन्डियालाई परेको छ । पाकिस्तानी एयर स्पेस बन्द भएको कारण युरोप पुग्न एयर इन्डियालाई तीन घण्टाभन्दा बढि समय बढि लाग्ने गर्छ ।

उडान नै रद्द गर्न बाध्य

प्रतिबन्धको कारण केहि उडान नै रद्द गर्नसमेत एयर इण्डिया बाध्य भएको छ । जसको कारण अहिलेसम्म ३७२ करोड रुपैयाँभन्दा बढि नोक्सान ब्यहोरेको जनाइएको छ । यो मात्रै नभई लामो उडानको लागि विमानले इन्धन भर्न बीचमै उत्रिनु पर्ने समस्या झेल्दै आएको छ ।

अहिले भारतबाट अमेरिका तथा युरोप पुग्ने विमान ओमानको बाटो हुँदै जाने गर्दछन् । लामो दुरीको कारण एयरलाइन्सहरु तेल भर्नको लागि दोहा तथा अहमदाबादमा रोकिन बाध्य छन् । जसको कारण दिल्लीबाट काबुल जाने कतिपय उडान समेत रद्द गर्नुपरेको छ । पाकिस्तानले एयर स्पेस प्रतिबन्ध लगाएसँगै सिंगापुर एयरलाइन्स, फिनएयर, ब्रिटिश एयरवेज, एयरोफ्लोत, थाई एयरवेज लगायत अन्तराष्ट्रिय उडानहरुले समेत रुट परिवर्तन गर्न बाध्य छन् ।

-जागरण डटकम