प्रकृतिको कुचीकार गिद्ध संरक्षणमा जोड

  • प्रकाशित मिति : May 2, 2019
  • टुरिजम सञ्चार

पोखरा, वैशाख १९। प्रकृतिको कुचीकारको रुपमा लिइने पन्क्षी गिद्धको संरक्षण गरि वातावरण स्वस्थ राख्नुपर्नेमा जोड दिईएको छ ।

जटायु संरक्षण तथा गौरक्ष केन्द्र घाचोकको आयोजना तथा नेपाल पन्क्षी संरक्षण संघको सहयोगमा गिद्ध संरक्षणमा स्थानीय सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले संरक्षणमा स्थानीयवासी तथा संघसंस्थाको भूमिका प्रमुख रहने बताए ।

विश्वमा गिद्धको संख्या लोप हुँदै गएको अवस्थामा संरक्षणका लागि  माछापुच्छ्रे गाउँपालिका ३ घाचोकमा जटायु संरक्षण केन्द्र स्थापना गरि त्यहाँ गिद्धलाई आहाराको व्यवस्था गरिएको छ ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका उपप्रमुख कृष्णकुमारी पौडेल लोपोन्मुख पन्क्षी गिद्धको संरक्षणमा दिगो विकासको योजना निर्माण गरिनुपर्ने बताईन् । उनले घाचोकमा रहेको जटायु संरक्षण केन्द्रलाई व्यवस्थित गरि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने खाँचो औँल्याउदै गाउँपालिकाले त्यसका लागि सहकार्य गर्न तयार रहेको बताईन्।

वडाध्यक्ष सुर्यप्रसाद लम्सालले आहाराको कमी तथा बासस्थान विनाशका कारण गिद्धको संख्या घट्दै जाने भएकाले जनचेतनासँगै यसको संख्या वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । उनले चरा संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ल्वाङका पर्यटन अधिकृत शिव देवकोटा, नेपाल पञ्क्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपाली, स्थानीय रविलाल पोखरेल, जटायु संरक्षण तथा गौरक्षक केन्द्रका अध्यक्ष राजाराम पौडेल, सचिव क्रान्तिरमण पोखरेल तथा कोषाध्यक्ष गोपाल पोखरेल लगायतले पन्क्षी संरक्षणमा राज्यको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा पन्क्षी संरक्षण परियोजनाका अधिकृत भुपाल नेपालीले पन्क्षी संरक्षमा हालसम्म भएका कार्यहरुको बारेमा प्रस्तुती राखेका थिए ।