यार्सागुम्बा संकलन गर्न शिक्षक र विद्यार्थी लेकमा

  • प्रकाशित मिति : May 2, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार, बैशाख १९। यतिबेला यार्सागुम्बा संकलनमा व्यस्त देखिन्छिन् काँडा मावि कक्षा–९ मा अध्यरत कल्पना बोहरा। पढाइ होइन, यार्सागुम्बा कति र कसरी संकलन गर्ने भन्ने चिन्ताले सताइरहेको उनी बताउँछिन्।

‘मलाई विद्यालयमा सरले आज के पाठ पढाउनुभयो, भोलि के पढाउँदै हुनुहुन्छ भन्ने चिन्ता लाग्दैन बरु अरू साथीसँगीको भन्दा बढी यार्सागुम्बा कसरी संकलन गर्ने र बाबुआमा, दाजुभाउजू लगायतबाट धेरै माया पाउने भन्ने चिन्ता लागेको छ,’ उनी भन्छिन्, गतवर्ष ५ लाख ५३ हजार रुपैयाँबराबरको यार्सागुम्बा संकलन गर्दा परिवारमा निकै खुसी छाएको थियो।

मेरी छोरी कल्पना होइन, लक्ष्मी हो भनेर आमाबुबाले भन्नुभएको थियो । यो वर्ष अझै बढी कमाउने सोच छ।’ दुई सातादेखि उनी चाला वनमा यार्सागुम्बा संकलन गरिरहेकी छिन्।

साइपाल गाउँपालिकाका धनसिंगे बोहराले घरमा रोजगारी गर्ने कोही नभएका र छोराबुहारीलाई घरधन्दा गर्दै बित्ने भएकाले नातिलाई यार्सागुम्बा संकलनमा पठाएको बताए। नातिले वर्षमा पाँचदेखि सात लाखसम्म कमाइ गर्ने भएकाले पढाइ छुटाएर भए पनि यार्सागुम्बा संकलनमा पठाएको उनले सुनाए।

उनले भने, ‘जेठो नाति जनक बोहरा कक्षा–७ र कान्छो नाति तिलक बोहरा कक्षा–५ मा सदरमुकाम चैनपुरको बझाङ मेरीगोल्ड बोर्डिङ स्कुलमा पढ्छन्। नातिलाई उनीहरूकै कमाइले बोर्डिङ पढाइरहेको छु। अहिले सिजनमा यार्सागुम्बा संकलन नगरे वर्षभरि परिवारले के खाने? नातिलाई केले पढाउने?

साइपाल गाउँपालिकाका विद्यालय मात्र होइन । सुर्मा, छबिसपाथिभेरा, दुर्गाथली तलकोट, मस्टा गाउँपालिका, बुगल नगरपालिका र जयपृथ्वी नगरपालिकाभित्रका अधिकांश विद्यालय पनि अहिले बन्द छन्।