पर्यटकको आर्कषणको केन्द्र बाँसखर्कमा घरबास निर्माण शुरु

  • प्रकाशित मिति : May 1, 2019
  • टुरिजम सञ्चार

तनहुँ, बैशाख १८। भानुनगरपालिका ११ बासखर्कमा घरबास निर्माण कार्य शुरु गरेको छ । गण्डकी प्रदेशले होमस्टे निर्माणका लागि रु १० लाख विनियोजन गरेपछि होमस्टे निर्माण कार्य शुरु गरेको हो ।

गुरुङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा अहिले पाँच घरबाट होमस्टे शुरु गर्न लागेको बाँसखर्क सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । स्थानीयवासी पर्यटकलाई आर्कषण गर्न यतिबेला बाटोमा ढुङ्गा छाप्ने काम गरिरहेका छन् अध्यक्ष गुरुङले भन्नुभयो । होमस्टे निर्माणमा स्थानीयवासीले चासो दिएर काम गर्न थालेका छन् ।

पाँच घरबाट शुरु गरिएको होमस्टेमा दश पाहुनालाई राख्न सकिन्छ उहाँले भन्नुभयो, “यस होमस्टेमा आउने पाहुनालाई अर्गानिक एवं स्थानीय गाउँ घरमा उत्पादित परिकारको व्यवस्था हुने छ । प्रत्येक कोठामा दुई वटा खाट राखिने र एउटा खाटमा एक जना मात्र पाहुनाको व्यवस्था मिलाइने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार पाँच घर होमस्टे निर्माणमा तीन वटा घर भूकम्प प्रतिरोधात्मक रहने र दुई वटा पुराना घरलाई रङरोगन गरेर बनाउन लागिएको हो ।

उक्त क्षेत्रबाट हिमशृङ्खलाको साथै मनोरम दृश्य सजिलै देख्न सकिने हुँदा एक पटक पुगेका जो कोही पाहुना पुनः दोहोराएर जान सक्ने सम्भावना रहेको वडाध्यक्ष तारानरेश पौडेलले बताउनुभयो । स्थानीयवासीले स्वागत गेट निर्माणको साथै बाटोमा ढुङ्गा बिच्छाउने कार्यमा यतिबेला व्यस्त देखिन्छन् उहाँले भन्नुभयो ।  ५८ घरपरिवार रहेको उक्त क्षेत्रमा दमौली बजारबाट डुम्रे बजार हुँदै करीब दुई घण्टाको यातायात सेवाबाट पुग्न सकिन्छ ।