शहीदमार्ग र मध्यपहाडी लोकमार्ग जोडिँदै

  • प्रकाशित मिति : April 30, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १७। सशस्त्र द्बन्द्बकालमा चर्चित बनेको शहीद मार्ग र शान्ति कालको चर्चित सडक आयोजना मध्य पहाडी लोकमार्ग एकआपसमा जोडिने क्रममा छन। शहीदमार्ग दाङ, रोल्पा हुँदै रुकुम पूर्व र मध्य पहाडी लोकमार्ग रुकुम पश्चिम हुँदै रुकुम पूर्व जोडिने क्रममा यी दुई सडक मार्ग पनि जोडिएका हुन्।

रुकुम पूर्व भूमे गाउँपालिका त्रिबेणीसम्म मध्य पहाडी लोकमार्गले छोएको छ। त्यस्तै भूमे गाउँपालिका अन्तर्गतको सडक बाघतारे, गुनाम, मारिङ हुँदै त्रिवेणी काँक्रीमा जोडिँदै छ। उता भूमे ७ बाघतारे हुँदै रोल्पाको थबाङबाट दाङ जोडिएको शहीदमार्ग पनि जोडिन लागेको हो।

भूमे गाउँपालिकाको ५० लाख, प्रदेश ५ सरकारको ५० लाख रकम रहेकोमा २० लाख श्रमदान गरी एक करोड २० लाखमा बाघतारेदेखि मारिङसम्म सडक पुगेको हो। त्यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपैयाँ रकम रहेकोमा १० लाख श्रमदान गरी ६० लाख रकममा दुईतर्फीबाट सडक तीव्र गतिमा खनिराखेको निर्माण समितिका अध्यक्ष विर्जङ बुढाले जानकारी दिए।

बाघतारे-गुनाम-मारिङ-त्रिवेणी काँक्री सडक खण्डको लागि नगद र श्रमदान गरी एक करोड ८० लाख रकममा यस आर्थिक वर्षका लागि निर्माण काम भइराखेको हो। बाघतारे-गुनाम-मारिङ-त्रिवेणी काँक्री नाम दिइएको उक्त सडकखण्ड ११ किलोमिटर लामो छ। यस क्षेत्रमा सडक जोडिएसँगै त्यस क्षेत्रको पर्यटनसँगै कृषि उत्पादनका सामग्रीलाई पनि राम्रो हुने छ। भूमेको मरिङमा अहिले गाउँपालिकाले मारिङ एकीकृत कृषि तथा वन अनुसन्धान केन्द्रको रुपमा काम गरिराखेको छ।

भौतिक संरचना बनाएर गोरु पाल्ने, जग्गा खनजोत गर्ने तथा बोटबिरुवा लगाउने काम भइरहेको छ। हाल मारिङमा तरकारी लगाउने, फलाउने र अनुसन्धान गर्ने काम भइरहेको छ। यसैगरी रुख, जडीबुटीको नर्सरी, स्याउ बगैंचा बनाउने भनिएको छ। यसको सुरक्षाका लागि गाउँपालिकाले प्राविधिक जनशक्तिसमेत मारिङमा खटाएको छ।

मारिङमा कृषि र वनको बृहत् अनुसन्धान गर्ने गरी अनुसन्धान केन्द्र बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए। ‘त्यसका लागि पनि सडक नभई नहुने भएकाले सडक जोड्न लागिएको’ अध्यक्ष बुढाले भने,‘आवश्यक कृषि सामग्री पुर्‍याउने र उत्पादनलाई बजारसम्म पुर्‍याउनका लागि सडकको आवश्यक रहेको छ।’

-थाहा खबर