अब कोटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’ व्यवस्था

  • प्रकाशित मिति : April 29, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १६। उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताए ।

‘धेरै सवारी साधन ओहोरदोहोर गर्ने प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ लागू गरेसँगै काभ्रे जगाती नाका हुँदै आउने सवारी साधनलाई काठमाडौँ भित्रन सहज हुनेछ’, उनले भने । सवारी साधनले यात्रु कुर्दा जाम अत्याधिक हुने गरेपछि व्यवस्था लागू गरिएको हो ।

यसअघि जमल, पुरानो बसपार्क, शहीदगेट, एनएसी, लैनचौर क्षेत्रमा व्यवस्था लागू गरेको थियो ।आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन उपत्यकाका विभिन्न स्थानमा व्यवस्था लागू गर्ने महाशाखाले जनाएको छ ।