पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै

  • प्रकाशित मिति : April 28, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार, बैशाख १५। बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा सवारीसाधनमा ठक्कर खाई मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण अधिकृतले  बताए।

पथलैयादेखि पूर्वमा तामागढी र उत्तरमा मकवानपुरसम्म फैलिएको सो निकुञ्जमा रहेका जनावरको सुरक्षा चुनौती बढ्दै गएपछि निकुञ्ज प्रशासनले ठाउँठाउँमा चेकपोष्ट राख्ने, विस्तारै गाडी हाँक्न लगाउने, जनचेतना फैलाउने काम गरिनेसमेत बताइएको छ । त्यसैगरी ओहरदोहर गर्ने जनावरको सुरक्षाका लागि सो क्षेत्रमा आकासे पुल बनाउने सोच रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

यसैगरी सेनाद्वारा बनाइरहेको फास्टट्र्याक पनि डिपिआरविना बनिरहेकाले हात्तीलगायतका जनावरलाई ओहोरदोहोर गर्न जोखिम हुने भएकाले त्यसतर्फ पनि निकुञ्ज प्रशासन गम्भीर रहेको बताइएको छ । जैविक विविधताले भरिएको पर्सा राष्ट्रिय निकुञ्जमा रहेको लोपोन्मुख जनावर हिँड्न सुरक्षित तथा छोटो बाटो नभएकाले बेलाबेलामा सवारीसाधनको ठक्करबाट जनावर मर्ने क्रम बढ्दै गएको छ भने निकुञ्जभित्र रहेका काठ चोरी, अवैध सिकारी, उद्योगबाट निस्कने रासायनयुक्त धुवाँधुलोले समेत प्रभाव पार्दा यसले जनावरको जीवनचक्रमा समेत प्रभाव पार्न थालेका छन् ।

कुल ६२७ दशमलव ३९ वर्ग किमिमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जङ्गल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजुन र दक्षिणमा निर्मलबस्ती, सुवर्णपुर रहेका छन ।