पोखराको भुम्दीको वनमा हराएका फ्रान्सका पर्यटकको २४ घण्टा पछि उद्धार

  • प्रकाशित मिति : April 28, 2019
  • टुरिजम सञ्चार

पोखरा, वैशाख १५। पोखराको भुम्दीको वनमा हराएका फ्रान्सका पर्यटकको २४ घण्टा पछि सकुशल प्रहरीले उद्धार गरेको छ । पोखराको भुम्दीबाट पञ्चासे जान भनि शुक्रबार बिहान ९ बजे एक्लै पदयात्रामा हिँडेका फ्रान्सका २७ वर्षिय पर्यटक लाजियो थिबल्ट जंगलमै हराएका थिए ।

आफू हराएको जानकारी उनले फोनबाट फ्रान्समा रहेकी आमालाई दिएका थिए । फोनको ब्याट्री सकिएपछि उनी सम्पर्क विहीन भएका थिए । आमाले फ्रान्सबाट नेपाल प्रहरीलाई सम्पर्क गरी छोरा हराएको जानकारी दिएपछि वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कमल शाहको नेतृत्वमा टोलीले शुक्रबार रातिदेखि खोजी गरेको थियो ।

शुक्रबार साँझदेखि हराएका फ्रान्सका पर्यटकको खोजी गरिएको २४ घण्टा पछि मात्र उनी फेला पारेको डिएसपी कमल शाहले जानकारी दिए । हराएका लाजियोको खोजीमा डिएसपी शाहसहित १५ जना खटिएका थिए ।

बिना गाइड जंगलको बाटो पदयात्रा गर्दा यस्तो घटना हुन गएको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी साहायक निरीक्षक विधानसिंह क्षेत्रीले बताए । पर्यटकलाई पदयात्रामा जाँदा अनिर्वाय रुपमा गाइड लिएर जान सचेत गराउनु पर्ने उनले सुनाए । भेटिएका फ्रान्सका पर्यटक लाजियोले बिना गाइड एक्दै जंगलको यात्रा गर्दा आफू हराउन पुगेको सुनाए । जीपीएसबाट बाटो खोज्दै बिहान ९ बजे भुम्दीबाट पञ्चासेका लागि वनको बाटो हिँडेको उनले सुनाए । जंगलमा हिडँ्दै जाँदा हराएपछि नेपाल प्रहरीलाई सम्पर्क गर्न फोन नम्बर थाहा नभएपछि फ्रान्समा आमालाई फोन गरेर आफू हराएको र खोज्न प्रहरीलाई खबर गर्न भनेको सुनाए । त्यसपछि फोनको ब्याट्री पनि सकिएपछि अलपत्र परेको उनले बताए ।

रातको समयमा जंगलको बीचमा दाउरा बालेर जाँगा बसेको र हराएपछि जंगलमा यता उता भौतारिँदा हात खुट्टा, र शरीरमा जंगलको काँडाले लछारेको उनले बताए । २४ घण्टा भन्दा बढी समय सम्म आफूले पानी बाहेक केही पनि खान नपाएको उनले बताए । वनमा हराएपछि आमा र आफ्ना नजिकका मान्छेलाई सम्झेको उनले सुनाए ।

भारत घुम्न आउने क्रममा हिमालयको देश नेपालका बारेमा सुनेपछि यहाँ आएको उनले सुनाए । नेपाल यात्राको क्रममा भेटिएका विदेशी साथीले नेपालमा एक्लै पनि पदायत्रा गर्न सकिने सुझाएपछि बिना गाइड पदयात्रामा निस्कदा आफूले दुख पाएको उनले बताए । अबे पदयात्रामा जाँदा गाइड लिएर जान सुझाउने उनले सुनाए । उनको खोजीमा फ्रान्सको राजदुतावासले पनि चासो देखाएको थियो ।