धनगढी विमानस्थल एक महिना बन्द हुने

  • प्रकाशित मिति : April 25, 2019
  • टुरिजम सञ्चार

धनगढी,वैशाख १२। धावनमार्ग स्तरोन्नती गर्न कैलालीमा रहेको धनगढी विमानस्थल आगामी २२ गतेबाट एक महिनाका लागि बन्द गरिने भएको छ । धावनमार्ग अति जिर्ण भईसकेकाले स्तरोन्नती गर्न आउँदो जेठ २१ गतेसम्म विमानस्थलमा उडान बन्द गरिने भएको बताइएको छ ।

विमानस्थलको धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता समेत भइसकेको र वैशाखबाटै विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको काम हुने भएकाले एक महिनाका लागि सबै एयरलाइन्सका उडानहरु बन्द गरिने भएको हो ।

सुदूरपश्चिमका अधिकांश जिल्लामा जाने सहज धनगढी विमानस्थल रहेको छ । सो विमानस्थल बन्द भएपछि काठमाडौँ जान नेपालगञ्ज विमानस्थलबाट आवतजावत गर्नुपर्ने हुनेछ ।

१७ करोड ८८ लाखमा अव धावनमार्गमा थप कालोपत्रे र दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको बताइएको छ । धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ ।

हाल तीन वटा पार्किङ गर्न सकिने उक्त विमानस्थलमा एक महिनापछि जम्मा चार विमान पार्किङ गर्न सकिने छ ।