आज १४ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

  • प्रकाशित मिति : April 24, 2019
  • टुरिजम सञ्चार

काठमाडौ, बैशाख ११। तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १४ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधिसभा पुनःस्थपनाको मागसहित सडकमा ओर्लेका सात राजनीतिक दल र जनयुद्धमा रहेको माओवादीबीचको सहकार्यले जनआन्दोलन सफल भएको थियो ।

जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्थापना गरी आफूले लिएको कार्यकारी अधिकार फिर्ता गरेको दिन वैशाख ११ को ऐतिहासिक महत्व छ ।

विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।

लोकतन्त्र दिवसमा सरकारको तर्फबाट औपचारिक कुनै कार्यक्रम नगरिए विभिन्न संस्थाहरुले आफूअनुकुल कार्यक्रम आयोजना गरेका छन् ।