पाथिभरा मन्दिर जाने सुकेटार-काफ्लेपाटी सडकमा चासो

  • प्रकाशित मिति : April 22, 2019
  • टुरिजम सञ्चार

ताप्लेजुङ्, बैशाख ९। जिल्ला समन्वय समिति प्रदेस १ महासंघले सुकेटार देखि काफ्लेपार्टी सम्मको सडक कालोपत्रेका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रसिद्ध तिर्थस्थल पाथीभरामा आइतबार सम्पन्न महासंघको सातौं बैठकले प्रदेश र स्थानीय तहबाट सम्भव नभएको ठहर गर्दै केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सदरमुकाम फुङलिङमा सार्वजनिक गर्दै महासंघका अध्यक्ष तथा खोटाङका जिसस प्रमुख बवि चाम्लिङले बाह्रै महिना हिलाम्मे हुने उक्त सडकले पाथीभरा जाने यात्रुलाई सास्ती दिइरहेको बताए ।

१२ किलोमिटरको यो सडक स्तरोन्नतीका लागि सरकारले ६ करोड रुपैंया यसअघिनै छुट्याइएको थियो । तर काम भएको छैन । त्यस्तै पाथीभरामा केवलकार निर्माणको कामलाइ गती दिन माग गरिएको छ । ‘पाथीभरा नेपाल र भारतका मात्र नभई तेस्रो मुलुकका पर्यटकको रोजाईमा पर्न थालेको छ,’ महासंघका प्रवक्ता तथा धनकुटाका जिसस प्रमुख टंक चौहानले भने,‘धार्मिक पर्यटन प्रवद्र्धनकालागि केबुलकार छिटो बन्नुपर्छ ।’ ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथीभरामा ४५ मिनेट बसेको बैठकले पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गर्ने समेत निर्णय गरेको छ ।

राष्ट्रियगान गाएर सुरु भएको बैठक छोटो अवधिमै सकिएको थियो । ‘चिसोका कारण धेरैबेर बस्न सकिएन,’ प्रवक्त चौहानले भने, थपे, ‘धेरै जनालाइ पुग्नै कठिन भएको र पुगेरपनि चिसोमा बसिरहन कठिन भएकाले हतार गरेर झर्यौं ।’

बैठकमा मोरङ, सुनसरी र ओखलढुङ्गाका बाहेक ११ जिल्लाका प्रमुख र उप–प्रमुखको सहभगीता रहेको ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले बताए । सहभागी प्रमुख तथा उप्रमुखलाई पाथीभरा सद्धभाव दुत पनि बनाइएको छ । बैठकले हेलिकप्टर दुर्घटनामा परि गत फागुन १५ गते यही क्षेत्रमा निधन भएका मन्त्री स्व. रविन्द्र अधिकारीसहित सातै जनाप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पनि पारेको गरेको छ ।

-फिदिम टुडे