टुरिजम संचार, चैत्र २९। मुस्ताङको जोमसोम–लोमान्थाङ सडकखण्ड करीब चार महीनापछि सञ्चालनमा आएको छ ।
जोमसोमदेखि कागबेनी छुसाङ हुँदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जोड्ने सडकमा गत पुसदेखि हिउँ जमेर यातायात सेवा अवरुद्ध भएको थियो ।
सडक सुचारु भएपछि चिसो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन थालेका छन् । सो सडक खुलेपछि लोमान्थाङ, दामोदरकुण्ड, कोरला क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज भएको छ ।
बाक्लो हिउँ जमेको समर–भेना खण्डमा एक्साभेटर परिचालन गरेर हिउँ पन्छाइ खुलाइएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । यसवर्ष फागुनको अन्तिम सातासम्म बाक्लो हिमपात भएको थियो ।
लोमान्थाङ, लोघेयकर दामोदरकुण्ड गाउँपालिका र उपल्लो मुस्ताङ जीप व्यवसायी समितिको पहलमा सडक खुलाइएको यातायात व्यवसायी देव गुरुङले बताए । उनका अनुसार उपल्लो मुस्ताङमा ३० भन्दा बढी गाडीले यातायात सेवा दिइरहेका छन् ।
सडक खुलेसँगै केही दिनयता म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटक र तीर्थयात्रीको चाप बढेको छ ।