लमजुङका १४ होमस्टेलाई अनुदान

  • प्रकाशित मिति : April 8, 2019
  • टुरिजम सञ्चार

पोखरा,चैत २५ । गण्डकी प्रदेश सरकारले लमजुङका १४ वटा होमस्टे गाउँलाई अनुदान उपलब्ध गराएको छ । पूर्वाधार विकास र पर्यटन विकासका लागि प्रत्येक होमस्टेले १० लाख रुपियाँ पाउने छन् । गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराउन गत पुसमा प्रस्ताव आह्वान गरेको थियो । लमजुङका २९ वटा होमस्टेले आवेदन दिएका थिए । अन्यको होमस्टे कार्यविधि २०७५ अनुसारको मापदण्ड नपुगेका कारण अनुदान नपाएको र १४ वटा छनौटमा परेको डिभिजन वन कार्यालय लमजुङमा प्रमुख प्रभात सापकोटाले बताउनुभयो । उहाँका अनुसार अन्य होमस्टेको मापदण्ड पुगेपछि अनुदानका लागि छनौट हुने छन् ।

होमस्टे अनुदानका लागि बेंसीसहर नगरपालिकाका ३ होमस्टे, राइनास नगरपालिकाका २, सुन्दरबजार नगरपालिकाका ३, मस्र्याङ्दी गाउँपालिकाका २ र क्व्होलासोंथर गाउँपालिकाका ४ होमस्टे छनौट भएको उहाँले बताउनुभयो । पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापनको लागि क्व्होलासोंथर गाउँपालिका ९ को गिलुङ सामुदायिक होमस्टे, राइनास नगरपालिरका ९ राइनासकोट होमस्टे, बेंसीसहर ३ रापासिङ सामुदायिक होमस्टे, मस्र्याङदी ८ तामाङ होमस्टे, बेंसीसहर २ मगर होमस्टे, राइनास ९ कुँडुले सामुदायिक होमस्टे, सुन्दरबजार ५ गहते मूलकोट होमस्टे, सुन्दरबजार ११ तुर्लुङकोट होमस्टे, क्व्होलासोंथर गाउँपालिका ८ घाम्राङ साुमदायिक होमस्टे, मस्याङदी गाउँपालिका ३ सिउरुङ होमस्टे, क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँ सामुदायिक होमस्टे, सुन्दरबजार ३ खजेगाउँ दुराडाँडा होमस्टे, क्व्होलासोंथर ४ भुजुङ सामुदायिक होमस्टे, बेंसीसहर नगरपालिका ३ काउलेपानी सामुदायिक होमस्टे छनौट भएका हुन् ।

सापकोटाका अनुसार १४ वटा होमस्टेले एक करोड ४० लाख रुपियाँ अनुदान पाउनेछन् । प्रदशले जारी गरको होमस्टेमा पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन गर्न अनुदान दिने कार्यविधिमा लागतको २० प्रतिशत खर्च सञ्चालक र १० प्रतिशत बजेट सम्बन्धित स्थानीय तहले उपलब्ध गराउने सुनिश्चितताको सिफिारिस पत्र सम्झौता गर्दा पेस गर्नुपर्ने प्रावधान छ । १४ लाख ४० हजारको काम गरेमा १० लाख रुपियाँ अनुदान पाउने उहाँले बताउनुभयो । १ लाख ४० हजार रुपियाँ भने गाउँपालिकाले खर्च गर्नुपर्नेछ ।

अनुदान रकमबाट पर्यटक भित्र्याउने, व्यवस्थित भौतिक संरचना निर्माणको कार्य गरिनुपर्ने उहाँले बताउनुभयो । ‘होमस्टेले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सक्न प¥यो । खानाका परिकारदेखि लिएर अन्य सेवासुविधामा राम्रो हुनुप¥या’ उहाँले भन्नुभयो, ‘स्थानीयको आयआर्जन होस् र पर्यटन प्रवद्र्धन पनि होस् भनेर अनुदान दिन लागिएको हो ।’

१४ वटै होमस्टेसंग कार्यालयले सम्झौता गरिसकेकाले कार्यालयबाट तत्काल अनुदान रकम प्रदान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार शुरुवमा ४० प्रतिशत रकम दिनेछ । पछि कामको आधारमा रकम भुत्तानी गरिनेछ । छनौटमा परेका होमस्टेमध्ये केही यसअघि नै सञ्चालित छन् भने केही नयाँ सञ्चालनमा तयारीमा छन् ।

अनुदानको रकमले पूर्वाधार विकासमा खर्च गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त रकम होमस्टे सञ्चालकले गोरेटो बाटो, प्रवेशद्वार, सार्वजनिक शौचालय, सामुदायिक भवन, पर्यटन सूचना केन्द्र लगायतका पूर्वाधार विकासमा खर्च गर्न सक्नेछन् ।