पर्वतीय संग्रहालय आइतबारदेखि दैनिक १० घण्टा खुला रहने

  • प्रकाशित मिति : April 8, 2019
  • टुरिजम सञ्चार

हरि बाँस्तोला / पोखरा,चैत २५ । विश्वका हिमाल र हिमालीका बारेमा एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आइतबारदेखि दैनिक १० घण्टा खुलाइएको छ । नेपाल पर्वतारोहण संघद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा एक सय रोपनी जग्गामा निर्मित संग्रहालय ०६१ साल माघदेखि सञ्चालनमा आएको थियो ।

पर्यटकको बढ्दो आकर्षणसँगै उनीहरूको सुविधालाई लक्षित गरी संग्रहालय अवलोकनको समय बढाइएको हो । बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म खुल्ने संग्रहालय आइतबारदेखि बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । उनका अनुसार संग्रहालय सञ्चालनमा आएदेखि नै विशेषगरी युनियन अफ एसियन अल्पाइन एसोसिएसन (युएएए) र युनियन अफ इन्टरनेसनल अल्पाइन एसोसिएसन (युआइएए) ले समय बढाउन गरेको आग्रह र विद्यार्थी तथा पर्यटकलाई ध्यानमा राखी खुल्ने समय दुई घण्टा थप गरिएको हो ।

समय थपसँगै गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पु¥याउने विश्वास लिइएको छ । ‘अन्नपूर्ण पदयात्रा सम्पन्न गरेर आउने विदेशी पर्यटकलगायत आन्तरिक पर्यटकको सुझाबसँगै हामी समय थप गर्ने टुंगोमा पुगेका हौँ’, उनले भने, ‘यसले पोखरा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक संग्रहालय अवलोकनबाट केही हदमा भए पनि वञ्चित नहुनेसमेत अपेक्षा गरिएको छ ।’

अध्यक्ष लामाले शुरुको वर्तमान अवस्थामा थप समयका लागि मौजुदा कर्मचारीलाई परिचालन गरिने भएकाले हालका लागि जनशक्ति नथपिने हुँदा संग्रहालयलाई आर्थिक भारसमेत नपर्ने राससलाई जानकारी दिए । साढे ६ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय भवनभित्र चार कक्षअन्तर्गत १२ उपकक्षमा विश्वका आठ हजारभन्दा अग्ला १४ हिमाललगायत अन्य हिमालमा आइतबारसम्म सञ्चालित गतिविधि प्रदर्शन गरिएको संग्रहालय विज्ञ बलप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार हिमालको उत्पत्ति, हिमपहिरो, चट्टानलगायत हिमालको काँठमा बसोबास गर्ने बासिन्दाकोे सामाजिक, सांस्कृतिक, धार्मिक एवम् आर्थिक क्रियाकलाप झल्काउने सामग्री संकलन गरी संग्रहालयको पर्वतीय मानव कक्षमा प्रदर्शन गरिएको छ । उनका अनुसार विश्वका पर्वत शृंखलाको उत्पत्ति, भौगर्भिक महत्व, सो स्थानमा पाइने वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थ, जानकारीमूलक सामग्रीको अभिलेख पर्वतीय कक्षमा राखिएको छ ।

उक्त कक्षमा विश्वका पर्वत शृंखलामा हुने पर्वतारोहण, पदयात्रा, स्किइङ, सिकार, अनुसन्धानजस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शन गरिएको बताउँदै विज्ञ राईले विभिन्न उपकरण संकलनसहितका विविध सामग्रीको अभिलेख भण्डारणलाई निरन्तरता दिइँदै आएको छ ।

संग्रहालय सञ्चालन समयमा गरिएको वृद्धिसँगै थप आम्दानी हुने बताउँदै उनले संग्रहालयमा संग्रहित बहुमूल्य एवं दुर्लभ सामग्रीको संरक्षणका लागि आवश्यक सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए । संग्रहालयको २१ लाख ११ हजार १ सय ३५ स्वदेशी तथा विदेशी पर्यटकले टिकट काटेर अवलोकन गर्दा करिब १८ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको संग्रहालयका निर्देशक शंकरबहादुर गौतमले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी नौ लाख १७ हजार ८ सय २४ विद्यार्थी, ६ लाख ७१ हजार १ सय ५५ नेपाली, एक लाख ५९ हजार ९ सय ३६ सार्क, बाह्य दुई लाख ४३ हजार ८ सय ९९ ले र बगैँचा परिसरमा १८ हजार ८ सय ५४ जना टिकट काटेर प्रवेश गरेका थिए । ०७५ कात्तिक १८ गते एकै दिनमा तीन हजार तीन सय ८७ जनाले टिकट काटेर अवलोकन गर्दा संग्रहालयले दुई लाख ८० हजार ३ सय ७० आम्दानी गर्न सफल भएको बताउँदै उनले भने ‘संग्रहालय सञ्चालनमा आएदेखि हालसम्म ९९ हजार ८ सय १६ जनाले निःशुल्क प्रवेश गरेको तथ्यांकमा उल्लेख छ ।’

आइतबार बिहान पहिलोपटक आठ बजे खुला गरिएको संग्रहालयमा एक घण्टाको अवधिमा आठ नेपालीले टिकट काटेर अवलोकन गरेको बताउँदै उनले संग्रहालय प्रवेशका लागि विद्यार्थीलाई ५०, नेपाली १ सय, सार्कस्तरीय २ सय ५० र बाह्य पर्यटकका लागि पाँच सय तथा बगैँचा परिसरका लागि ३० रुपैयाँ टिकट दर कायम गरिएको जानकारी दिए ।

दैनिक ८ घण्टा मात्र खुला रहँदै आएको संग्रहालय आइतबारदेखि दैनिक १० घण्टा सञ्चालनमा आएको बताउँदै निर्देशक गौतमले वर्षमा ३ सय ६५ दिन नै सञ्चालनमा आएको उल्लेख गरे । पोखरा भ्रमणमा आउने कतिपय आन्तरिक एवम् बाह्य पर्यटक बिहान र साँझ संग्रहालयको प्रवेशद्वारबाट फर्कनुपर्ने बाध्यता रहेका अवस्थामा सञ्चालन समय दैनिक दुई घण्टा थपिनाले पर्यटकको इच्छा पूरा हुने र संग्रहालयको आम्दानीमा समेत वृद्धि हुने देखिएको छ ।