गैँडा संरक्षणमा नेपालसहित पाँच देश एकजुट

  • प्रकाशित मिति : April 8, 2019
  • टुरिजम सञ्चार

काठमाडौँ,चैत्र २५ । एसियन गैँडा पाउने पाँच वटा राष्ट्रहरुले गैँडा संरक्षणका लागि एक्येवद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेका छन् । एसियन गैँडाको विशेषज्ञ समुह (एसियन राइनो स्पेसिलिष्ट ग्रुप ) को भारतको नयाँ दिल्लीमा भएका दुई दिने बैठकपछि गैँडा संरक्षणका लागि साझा सहमतिमा हस्ताक्षर भएको हो ।

नेपाल, भारत, भूटान, इण्डोनेशिया र मलेसियाका सरकारी उच्च अधिकारी, गैँडा विज्ञहरुको सहभागिता रहेको विज्ञ बैठकले १२ बुँदे सहमति गरेको छ ।

सो बैठकमा नेपाली प्रतिनिनिधि मण्डलको नेतृत्व गर्नुभएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा.रामचन्द्र कँडेलका अनुसार गैँडाको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण गर्न सीमा जोडिएका मुलुकका बीच अझ प्रगाढ सम्बन्ध बिस्तार गर्ने र विद्यमान संरचनालाई प्रभावकारी बनाउँदै लैजाने, सीमा जोडिएका देशमा गैँडाको बासस्थान सुधार, सुरक्षा तथा गैँडा संरक्षणका लागि प्रचार प्रसारलाई गर्ने कार्यलाई प्राथमिकतामा राख्ने कुरामा सहमति भएको छ ।

गैँडा संरक्षणका लागि आ आफ्ना राष्ट्रमा भए, गरेका सफल प्रयोग, अभ्यास तथा अध्ययन अनुसन्धान, सिँकाईलाई सबै राष्ट्रबीच आदान प्रदान गर्ने, सीमा क्षेत्र जोडिएका राष्ट्रबीच गैँडाको बासस्थान क्षेत्र बिस्तारका लागि सहकार्य गर्ने कुरामा पनि पाँच वटा राष्ट्रले सहमति जनाएका छन् ।

हरेक तीन वर्षमा आयोजना हुने यो उच्चस्तरीय विज्ञ बैठक आगामी सन् २०२२ मा नेपालले आयोजना गर्ने भएको छ । यस अघि इण्डोनेसियामा बैठक आयोजना गरिएको थियो ।