वन्यजन्तु पीडितलाइ राहत रकम वितरण

  • प्रकाशित मिति : April 8, 2019
  • टुरिजम सञ्चार

दार्चुला, चैत्र २५। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला अन्तर्गत महाकाली नगरपालिका, व्यास गाउँपालिका र मार्मा गाउँपालिकाका २१ जना वन्यजन्तु पीडितलाइ राहत वितरण गरिएको छ । वन्यजन्तुले पशुधनमा क्षति गरेको भन्दै २०७५ मंसिर १४ गतेसम्म राहत माग गर्ने निवेदनहरुलाई वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ तेस्रो संशोधन अनुसार राहत रकम वितरण गरिएको हो ।

राहत सिफारिस समितिको बैठकले गरेको निर्णय अनुसार २१ जना पीडितलाइ कुल ६ लाख ६७ हजार रुपैँया राहत रकम वितरण गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले जानकारी दिनुभयो । संरक्षण क्षेत्र अन्तर्गत चितुवाको आक्रमणबाट पशुधनको क्षति व्यहोरेका व्यास गाउँपालिकाका ६ जना, मार्मा गाउँपालिकाका ९ जना र महाकाली नगरपालिकाका ६ जना कृषकलाइ राहत वितरण गरिएको हो । आन्तरिक आम्दानीबाट अपिनाम्पा संरक्षण परिषद्ले खाद्यान्न बालीमा क्षति भएका ६ जना कृषकलाइ १५ सयका दरले ९ हजार रुपैयाँ राहत समेत वितरण गरेको छ ।

चालु आर्थिक बर्षमा वन्यजन्तुको क्षति वापत जिल्लाभरी राहत वितरणकालागि १० लाख रुपैँया प्राप्त भएकोमा २ लाख ७१ हजार डिभिजन बन कार्यालय दार्चुलाको कार्यक्षेत्रमा वितरण गरिएको छ । डिभिजन वन कार्यालय दार्चुलाले बँदेलको आक्रमणबाट घाइते भएका शैल्यशिखर नगरपालिकाका २ जना पीडितहरुलाई राहत वितरण गरेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का करन धामी र शैल्यशिखर ८ बोहरीगाउँमा हरिशंकर जोशीलाई वन कार्यालयबाट राहत उपलब्ध गराएको हो । हरिशंकर जोशीलाई १ लाख ९९ हजार ८ सय ६७ रुपैयाँ र करण धामीलाई ७१ हजार ६ सय ८ रुपैयाँ राहत प्रदान गरिएको डिभिजन प्रमुख हरिप्रसाद पाण्डेले बताए ।

जोशीलाई बँदेलले २०७३ कात्र्तिक २० गते र धामीर्लाइ २०७४ माघ १० गते आक्रमण गरेर घाइते बनाएको थियो । यसअघि २०७४ साउन १ गते लेकम गाउँपालिका वडा नम्बर ३ मा धानादेवी जोशीको बँदेलको आक्रमणबाट मृत्यु भएको थियो ।