गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ८ महिनामा दुई लाख भन्दा बढी पर्यटक भित्रिए

  • प्रकाशित मिति : April 7, 2019
  • टुरिजम सञ्चार

पोखरा , चैत २४ । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ८ महिनामा मात्र दुई लाख १५ हजार सात सय ९४ विदेशी पर्यटक भित्रिएका छन्। कुल पर्यटकमध्ये ९० हजार भारतीय र बाँकी अन्य मुलुकका रहेको गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन महाशाखाले जनाएकाे छ । गण्डकी सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउनदेखि गण्डकी प्रदेशमा आउने विदेशी पर्यटकको तथ्यांक संकलन सुरु गरेको हो। ८ महिनायता सबैभन्दा धेरै कात्तिकमा ३८ हजार पाँच सय ७५ विदेशी पर्यटक आएको तथ्यांक छ। मंसिरमा ३७ हजार एक सय नौ जना छन्।

सबैभन्दा थोरै फागुनमा १९ हजार चार सय ५१ छन्। साउनमा २० हजार आठ सय २१ विदेशी पर्यटक अाएका िथए । स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक तनहुँको आबुखैरेनीस्थित पृथ्वी राजमार्गको आबुखैरेनी प्रहरी चेकपोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेकपोस्टका प्रहरीको सहयोगमा संकलन गरिएको िथयाे।  हवाई मार्गबाट पोखरा आउने पर्यटकको तथ्यांक भने पोखरा विमानस्थलले प्रदेश सरकारलाई उपलब्ध गराउँदै आएको छ। त्यसै गरि हेलिकप्टरबाट आउने पर्यटकको पनि रेकर्ड राखिनेछ। गण्डकी प्रदेशमा सबैभन्दा धेरै पर्यटक पदयात्राका लागि आउँछन्। अन्नपूर्ण, धौलागिरि, मनास्लु संरक्षण क्षेत्रको पदयात्राका लागि विदेशी पर्यटक प्रदेशमा आउँछन्। भारतीय तीर्थयात्री भने प्रसिद्ध तीर्थस्थल मुस्ताङको मुक्तिनाथ जान आउँछन्।