काठमाडौंमा लिच्छवीकालीन नागकन्या र लक्ष्मीको मूर्ति भेटियो

  • प्रकाशित मिति : April 6, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत २३। कीर्तिपुर नगरपालिका-६, चारघरेमा लिच्छवीकालीन मूर्ति फेला परेको छ । मूर्ति भेटिएपछि पुरातत्व विभागले त्यहाँ उत्खनन थालेको छ ।

भूकम्पले भत्किएको जालपादेवी मन्दिर उत्खननका क्रममा नागकन्या र लक्ष्मीको मूर्ति भेटिएको हो । खन्ने क्रममा मूर्तिको सानो टुक्रा भने चोइटिएको छ । त्यस्तै, मन्दिरको भग्नावशेषबाट कुँदिएका ढुंगा र सिक्कासमेत भेटिएका छन् ।

भेटिएका मूर्ति लिच्छवीकालीन भएको पुष्टि भएको पुरातत्व विभागले गरेको छ । मन्दिर पुनर्निर्माण समितिको आग्रहपछि पुरातत्व विभागबाट भाष्कर ज्ञवालीको नेतृत्वमा आएको एक टोलीले मूर्ति तथा सिक्का लिच्छवीकालीन भएको पुष्टि गरेको वृहत चारघरे धार्मिक समितिका सचिव विनोद बस्नेतले जानकारी दिए ।

‘पुराना मूर्ति र सिक्का उत्खनन स्थलमा भेटिएपछि हामीले जनप्रतिनिधि र प्रहरीको सल्लाहअनुसार पुरातत्व विभागलाई खबर गरेका थियौं’, कीर्तिपुर क्षेत्रमा भूकम्पले भत्किएका मन्दिर पुनर्निर्माणका लागि गठित वृहत चारघरे धार्मिक समितिका सचिव बस्नेतले भने, ‘विभागबाट भाष्कर ज्ञवालीको नेतृत्वमा आउनु भएको टोलीले अध्ययनपछि उक्त मूर्ति लिच्छवीकालीन भएको पुष्टि गर्नु भएको छ ।’

भेटिएका पुरातात्विक मूर्ति तथा सिक्का विभागले मन्दिर निर्माण समितिलाई कै जिम्मामा छाडेको छ ।

मन्दिरमा पुरातात्विक महत्त्वका वस्तु भेटिएपछि थप उत्खनन थालिएको छ । मन्दिर पुनर्निर्माण समितिले थप पुरातात्विक वस्तु हुन सक्ने अड्कल गर्दै आफ्नै अग्रसरतामा उत्खनन थालेको छ ।