भोलिसम्म हुरीबतास र पानी, सचेत रहन आग्रह

  • प्रकाशित मिति : April 6, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र २३। नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ । जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहितको पानी परिरहेको छ ।

पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौं हुँदै पूर्वतिर सरिसकेको छ । पोखरादेखि पूर्वतिरको मौसममा खराबी देखिए पनि पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव नपरेको मौसमविद् पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार छिनमै मेघ गर्जनसहित पानी पर्ने र लगत्तै घाम लाग्ने देखिन्छ । उहाँले भन्नुभयो, ‘यो प्रणालीले पोखरादेखि पश्चिमका क्षेत्रमा खासै असर नगर्ने भए पनि प्रि–मनसुनमा छिनछिनमा मौसम परिवर्तन हुने भएकाले पानी पर्ने सम्भावना कायमै रहन्छ ।’

मौसमविद् पोखरेलका अनुसार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान आंशिक बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । साथै हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्नेछ । पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।