पूर्वी तराईमा कसरी आयो हावाहुरी ?

  • प्रकाशित मिति : April 3, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र २०। आइतवार साँझ आएको हावाहुरीले नेपालको पूर्वी तराईका दुई जिल्लामा धनजनको ठूलो क्षति भयो। साँझ साढे सात बजेदेखि सुरु भएको हावाहुरी झन्डै आधा घण्टासम्म चलेको थियो। हावाहुरीले माटोबाट बनेका कच्ची घरहरूमा क्षति पुर्‍याएको थियो। बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ। शक्तिशाली हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधनहरूलाई पल्टाइदिएको थियो।

कसरी आयो हावाहुरी ?

जल तथा मौसम पूर्वानुमान महाशाखाको प्रारम्भिक आँकलमा बाराको फेटा गाउँपालिका आसपासको क्षेत्रमा ९० देखि १ सय किलोमिटर प्रतिघण्टाको दरमा हावाको बहाव थियो ।

काठमाडौंमा ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा रहेको हावाको बहाव बारा पुग्दा प्रतिघण्टा १ सय हाराहारीको स्पिडमा पुगेको थियो । बारामा पाँचदेखि सात मिनेट भुमरी परेको र पछि मौसममा सुधार आएको थियो ।

भारतको  मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको देखिन्छ। स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भयो।” तर जल तथा मौसम विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउनेगरी कुनै सङ्केत देखिको थिएन।

भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बङ्गाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो।