पाथीभरामा सिक्का चढाउने बढ्दै

  • प्रकाशित मिति : April 1, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र १८। सिजनका बेला दैनिक १५ पाथीको हाराहारीमा सिक्का जम्मा हुने गरेको छ । नौरथा र रामनवमी यहाँ दर्शन गर्ने मुख्य सिजन हो । एक पाथीमा २२ किलो र आठ हजार रुपैयाँको एक पाथी हने मुख्य पुजारी डिल्लि आचार्यले बताए ।

पहिले तिर्थयात्रीहरुले सिक्का आफैं बोकेर लैजाने गरेको भएपनि अहिले मन्दिरमै साटेर भढाउने आचार्यले बताए । ‘अहिले धेरैले नोट दिएर सिक्का यहीं साटेर पाथीमा भरेर चढाउँछन्,’ उनले भने, ‘भर्न माना, पाथीको व्यवस्था मन्दिरमै छ ।’ संवद्र्धन समितिले मन्दिरमै सिक्का साट्ने प्रबन्ध मिलाएको हो ।

मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दसैंको सिजन असोजदेखि मध्य मंसिरसम्मै भिड लाग्छ । सिक्का पैसा लिएर जानेले काफ्ले पार्टीदेखि नै चढाउने गरेका छन् । पाथीभरामा पाथीले भरेर चढाए राम्रो हुने विश्वास पछिल्ला दिन बढ्दै गएको छ । पाथीले चढाएपछि मानो र मुठीले पनि चढाउने भक्तजन धेरै हुने मन्दिरका पुजारी टिकाराम पौडेलको भनाई छ ।

व्यवस्थापनमा कठिनाईं

सिक्काको व्यवस्थापन गर्न भने समितिलाई समस्या हुने गरेको छ । सिक्का सटही गर्दा धेरै खर्च हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी दिर्नेशक उदय भट्टराईका अनुसार पाथीभराबाट मान्छेले बोकेर भालुगौंडेसम्म ल्याउनुपर्छ ।

३७ सय ९४ मिटरको उचाईबाट एक जनाले ३५ किलोभन्दा बढी बोक्न सक्दैनन् । सिक्का पैसा बोक्न असजिलो हुन्छ । सदरमुकाममा गोदाम व्यवस्थापन, सफा गर्ने कच्चा पदार्थ, जनशक्ति जस्ता कुराले पैसा टल्काउन धेरै खर्च हुने भट्टराई बताउँछन् । बैंकहरुले सटही गर्न पनि आनाकानी गर्ने गरेको समितिको गुनासो छ ।

धोएर सफा बनाएपछि तौलका आधारमा बैंकहरुले सटही गर्ने गरेका छन् । एक रुपैयाँको सिक्काको तौल चार र दुई रुपैयाँको पाँच ग्राम हुन्छ । टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ हुन्छ । गनी रहन झन्झट हुने भएकाले यसरी नै हिसाब निकाल्ने बैंकले जनाएको छ ।

सफा गरिँदै

अहिले ७५ क्विण्टल सिक्का धोईपखाली गरी सफा गर्ने काम भइरहेको छ । क्षेत्र विकास समितिले फुङलिङमा ल्याएर सफा गर्दै सुकाउने कार्य गरिरहेको हो । अझै मन्दिरमा मन्दिरबाट १० क्विन्टलमै थन्किएको समितिकन सदस्य गोपाल न्यौपाले बताए । यस पटकको सिक्का एनएमबी बैङ्कसँग साट्ने सहमति भएको छ ।