भ्रमण वर्ष सफल पार्न राइनोकुञ्ज पर्यटन मेला हुँदै

  • प्रकाशित मिति : March 30, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र १६। पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यका साथ चितवनको भरतपुरमा राइनोकुञ्ज पर्यटन मेला आयोजना हुने भएको छ । भरतपुर महानगरपालिका १३ मा पर्ने राइनोकुञ्ज क्षेत्रको जैविक विविधताको संरक्षण र पर्यापर्यटनको विकासका लागि चैत ३० देखि मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिइएको छ ।

सक्रियतामा सञ्चालन गर्न लागिएको मेलामार्फत राइनोकुञ्जको प्रचारप्रसारलाई जोड दिइने वडाध्यक्ष एवं राइनोकुञ्ज पर्यटन मेला–२०७५ का संयोजक प्रकाश दवाडीले बताएका छन । पर्यटकीय नगरी सौराहाको झल्को मेटाउने गरेर भरतपुर महानगरपालिका–१३ मा राइनोकुञ्ज पर्यटकीय क्षेत्रको रुपमा विकास भएकाले यसलाई प्रवद्र्धन गर्न लागिएको दवाडीले बताए । चितवन राष्ट्रिय निकुञ्जको सङ्गममा रहेको राइनोकुञ्ज क्षेत्रमा छीतामाई मन्दिर, बाटुलीपोखरी ताल, शहीद पार्क, कमलपोखरी, श्रमिक ताल, गैँडाताल र भ्यूटावर रहेका छन ।

मेला अवधिभर ऐतिहासिक एवं धार्मिकस्थलको अवलोकन, जिप सफारीद्वारा चितवन राष्ट्रिय निकुञ्जभित्रका जङ्गली जनावर र चराचुरुङ्गीको अवलोकन, राप्ति तथा बाटुलीपोखरी तालमा डुङ्गा सयर, विभिन्न जातिका आ–आफ्नै कला संस्कृति झल्कने झाँकीहरुको प्रदर्शन र थारू, बोटे, तामाङ, गुरुङलगायतका विभिन्न जनजातिका भेषभूषा तथा कलासंस्कृतिको अवलोकन गर्न पाइने दबाडीले बताए ।

भरतपुर महानगरपालिका–१३ को आयोजनामा हुने मेलाको संरक्षकमा भरतपुर महानगरपालिका नगर कार्यपालिका र सहआयोजकको रुपमा चितवन राष्ट्रिय निकुन्ज पटिहानी उपभोक्ता समिति, चितवन राष्ट्रिय निकुन्ज वरण्डाभार उपभोक्ता समिति, वेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।

भरतपुर विमानस्थलसम्म हवाईयात्रा र त्यहाँबाट करीब ८ किलोमिटर दूरी पार गरेपछि राइनोकुञ्ज क्षेत्र पुगिन्छ । रासस