बाढीले बगाएर भारत पुगेका ३ गैँडा ल्याउन कठिनाई

  • प्रकाशित मिति : March 30, 2019
  • टुरिजम सञ्चार

चितवन, चैत्र १६। दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन सकेकाे छैन । ०७३ साउन अन्तिम साता आएको बाढीले बगाएकाे दश गैँडा उद्धार गरी ल्याइए तीन गैँडा ल्याउन नसकेकाे हाे ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाउँदा गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए । तत्कालै निकुञ्जले समन्वय गरी नौ गैँडा उद्धार गरेर ल्याएको थियो । त्यसको करिब एक वर्षपछि नेपाल छिरेको मौकामा अर्को एक गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हाल भारतीय भूमिमा रहेका गैँडा ल्याउन केही महिनाअघि पत्रचार गरिए पनि प्रतिउत्तर आएको छैन । निकुञ्जले परराष्ट्र मन्त्रालयमार्फत पनि पहल गरिरहेको छ । यद्यपि भारतीय पक्षबाट जवाफ नआएकाले गैँडा ल्याउन नपाइएको ढकालले बताए ।

भारतीय अधिकारीले तीन गैँडा रहेको जनाएपछि निकुञ्जले पहल सुरु गरेको थियो । बाढीले गैँडासँगै अन्य जनावर पनि बगाएर भारत पु-याएकाे थियाे । यस क्रममा साना वन्यजन्तु मरेको जनाइएको थियो ।

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६ सय ५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि दाताको टुङ्गो नलाग्दा गणनाको मिति तय हुन सकेकाे छैन । बाढीले धेरै गैँडा पश्चिमी क्षेत्रमा पु-याएपछि प्राकृतिक कारणले मर्ने क्रम बढेर गएको छ । चालू आर्थिक वर्षको हालसम्म राष्ट्रिय वन क्षेत्रमा दुईसहित ४१ गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।