पर्यटन पत्रकारको टोलि नेपालगन्जमा

  • प्रकाशित मिति : March 25, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार, चैत्र ११। पर्यटन प्रबद्र्धनका लागि मिडियाको भुमिका विषयमा तीन दिने तालिम आइतबारबाट  पाँच नम्बर प्रदेश अन्तर्गत बाँकेको नेपालगञ्जमा उद्घाटन गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन पत्रकार महासंघले तालिमको आयोजना गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा रितुबिचारको अध्यक्षता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा तालिमको आयोजना गरिएको हो ।

“पर्यटन क्षेत्रको सुधारका लागि सरकारकातर्फबाट धेरै काम भएका छन्”, मुख्यमन्त्री शाहीले भने, “बितेका एक वर्षमा विकास निर्माणका र पर्यटन प्रवद्र्धनका काम चाहेजति हुन सकेनन्, अबको एक वर्षमा पर्यटन क्षेत्रमा धेरै सुधारको अनुभूति हुनेछ ।” निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधारको विकास गरिनुपर्ने उल्लेख गर्दै उनले एकले अर्कालाई देखाउने प्रवृत्ति त्याग्दै तोकिएका काम गर्ने र एकापसमा समन्वय गरी अघि बढ्नसके पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हासिल हुने दाबी गरे ।

पत्रकारिताको माध्यमबाट पर्यटनको बिकास गर्नका लागि पर्यटन बिधामा कलम चलाउने पत्रकारको क्षमता बिस्तार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा सातवटै प्रदेशका शाखाहरूबाट सहभागिता रहेको छ । यस्तै नेपाल पर्यटन पत्रकार महासंघले हाल सम्म ६८ जिल्लामा पर्यटन पत्रकार महासंघको शाखा बिस्तार गरिसकेको छ भने तालिम तीन दिन सम्म चल्ने उपत्यका समन्वय समिती अध्यक्ष जि.पि. पौडेलले बताए।