रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण

  • प्रकाशित मिति : March 22, 2019
  • टुरिजम सञ्चार

बेनी, चैत्र ८।  म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट र बेनी नगरपालिका ९ काउलेगौँडा जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुबै तर्फको थाकानको डिलमाथि निर्माण गरिएको १२१ मिटर लामो झोलुङ्गे यस पुल यस क्षेत्रकै अग्लो पुल भएको बताइएको छ ।

दुई स्थानीय तह जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएपछि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट सहित वडा नम्बर ३ पिप्ले, २ भगवतीका स्थानीय र बेनी नगरपालिका ९ काउलेगौडा, तोरीपानी, न्याप्टेचौर, बेनपा १० पात्लेखेत लगायतका ठाउँका स्थानीयलाई वारपारको लागि सहज भएको छ ।

पुल निर्माणले झण्डै साढे २ घण्टाको पदयात्रा १५ मिनेटमै छोटिएको हो। पुल सदरमुकाम बेनी देखि नजिकको दुरीमा रहेको र पुलबाट रघुगंगा नदी, वरीपरी हरियाली जंगलको मनोरम दृष्य अवलोकन गर्न सकिने भएकाले पर्यटकीय दृष्टिकोणमा समेत सम्भावना बढेेको छ।