केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि १७ अर्ब माग

  • प्रकाशित मिति : March 18, 2019
  • टुरिजम सञ्चार

काठमाडौ,चैत्र ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा प्रि फिजिबिलिटी अध्ययन सम्पन्न गरेको सो रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताए ।

सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले बजेटको अभावमा वीरगंज–काठमाडौं रेलमार्ग निर्माणका लागि फिजिबिलिटी अध्ययनको कामलाई अघि बढाउन नसकिएको पनि बताए ।

सो रेलमार्गको प्रि फिजिबिलिटी भारत सरकारको सहयोगमा सम्पन्न गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणको फिजिविलिटी अध्ययनका लागि करिव ३५ अर्ब लाग्ने अनुमान गरिएको छ भने वीरगंज–काठमाडौं रेलमार्गको फिजिविलिटी अध्ययनका लागि करिव ७ अर्ब लाग्ने अनुमान गरिएको छ । सो दुवै रेलमार्गको फिजिविलिटी अध्ययनको काम अघि बढाउन बजेटको अभाव रहेको सचिव अधिकारीको भनाइ छ ।

सचिव अधिकारीले मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म ३८ प्रतिशत पूँजीगत खर्च गरेको पनि समितिलाई जानकारी दिए । उनले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने काममा ढिलाइ भएकाले पूँजीगत खर्च अपेक्षा अनुसार गर्न नसकिए पनि अब त्यस कार्यले पनि गति लिने दावी समेत गरे ।

सचिव अधिकारीले चालू आर्थिक वर्ष भित्र आफ्नो मन्त्रालयले लक्ष्य अनुसारनै पूँजीगत खर्च गर्ने दावी पनि गरे ।