‘पहाडकी रानी’ बन्दीपुर, घुम्न जाने हैन त ?

  • प्रकाशित मिति : March 17, 2019
  • टुरिजम सञ्चार

आशिष न्यौपाने / तनहुँ, चैत ३। काठमाडौँ बाट बन्दीपुर १४७.४ कि.मी. (पृथ्वी राजमार्ग मार्फत) पर्दछ। शहरको कोलाहल वातावारण बाट एकैछिन् टाढा जानको लागि बन्दीपुर एक उपयुक्त हुनसक्छ । पहाडकी रानी बन्दीपुर नाम बाट परिचित बन्दीपुर घुम्न पर्येटकहरु घुइचो नै लाग्ने गर्छ ।सदरमुकाम दमौलीदेखि १८ किलोमिटर पूर्व डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिरलगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको पहिलो रोजाइ बन्ने गरेको छ ।

सुन्दर हिमशृङ्खलाहरुको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकहरुको पहिलो रोजाइमा बन्दीपुर पर्ने गर्छ । बन्दीपुरमा रहेका परम्परागत घरहरु यहाँको पर्यटन उद्योगको टेवा बनेको स्थानीय राजु बानियाँ बताउछन् । काठका बुट्टा कुँदिएका झ्याल तथा ढोकाहरु, ईंटाबाहिर देखिने मन्दिर शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेको उनि बताउछन् ।

अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याई बाटो निर्माण गरेको स्थानीय बासिन्दा बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।बन्दीपुर बजारमा भएका पुरानो घरहरुको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।

गाउँपालिकाले बन्दीपुर चक्रपथ भित्र र चक्रपथ बाहिर ५०० मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । विसं २०५७ मा श्रेष्ठले पहिलो पटक रिसोर्ट स्थापना गरेको बन्दीपुरमा हाल हिमालय दरबार, ग्रीनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक १ हजार ४ सय पर्यटकले रात बिताउन सक्ने छन् ।

चट्टान आरोहण गर्ने पर्यटकको उपयुक्त गन्तव्य बन्दै गएको बन्दीपुर गाउँपालिका- ४ विमलनगरस्थित चुन पहरा रक क्लाइम्बिङको ट्रेनिङ सेन्टर पनि बन्ने भएको छ । त्यसैगरी पृथ्वीराजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म केबलकार पनि निर्माण हुने भएको छ उक्त केबलकारबाट घण्टामा २ सय जनाले वारपार गर्न सक्नेछन् ।

डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किमी उकालो दूरी बसमा करीब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि ९ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ ।५६ करोड रुपैयाँको लागतमा निर्माण हुने केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछन् । करीब १५ महीनामा निर्माण सक्ने लक्ष्य राखिएको केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।