इलामको विमानस्थल कालोपत्रे हुने

  • प्रकाशित मिति : March 14, 2019
  • टुरिजम सञ्चार

इलाम,फाल्गुन ३०। सदरमुकामको इलाम नगरपालिका ९ मा पर्ने सुकिलुम्बामा निर्माण भइरहेको बिमानस्थललाई कालोपत्रे गर्न प्रकृया शुरु भएको छ । अहिले बिमानस्थल पुग्ने बाटो ग्राबेल हुँदै गरेको र अब बिमानस्थल कालोपत्रे हुने भएपछि छिट्टै सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ ।

यस निर्माणाधीन बिमानस्थलमा गएको साउनमा तारा एयरको बिमान परीक्षण उडान सफल भएसँगै विमानस्थलको निर्माण सुस्ताएको थियो । परीक्षण उडानपछि पनि निर्माण कार्य तीब्र गतिमा अगाडि नबढाइँदा जनगुनासो समेत शुरु भइसकेको थियो ।

आयोजना प्रमुख न्यौपानेले जनअपेक्षा अनुसार नै धावनमार्ग कालोपत्रेका लागि इष्टिमेट डिजाइन तयार भएको बताएका छन् । विमानस्थल धावन मार्गका लागि चालु वर्षमा चार करोड बजेट छुट्टिएको र करिब १५ करोड बढी खर्च हुने अनुमान रहेको छ । सात सय मिटर लम्बाई र २० मीटर चौडाइको कालोपत्रे धावन मार्ग बनाउन लागिएको उनले जानकारी दिए ।

यस वाहेक जहाज पार्किङका लागि ७० मिटर लम्बाई र ३० मिटर चौडाइको पार्कीङस्थल समेत कालोपत्रे बनाउने आयोजनाको योजना छ । धावनमार्ग सकिएपछि पुन टर्मिनलका लागि थप ६ करोड आवश्यक पर्ने नेउपानेले बताए । ग्राभेलमात्र गर्दा अर्को वर्ष पनि पानीले बगाएर उस्तै बनाउने र बजेट खेर जाने हो की भनेर वहुवर्षे ठेक्का लगाएर भएपनि कालोपत्रे सम्पन्न गर्ने योजना बनाएको उनले सुनाए ।

बिमानस्थल निर्माण सम्पन्न भएपछि पाँचथर, इलामसहित भारतको, दार्जि्लिङ, सिक्कम क्षेत्रका जनतालाई सजह हुने ठानिएको छ ।