मन्त्री नै दुर्घटनामा परेपछि हेलिकोप्टरकाे १ यात्रुसिट घटाइयाे

  • प्रकाशित मिति : March 10, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन २६ । ताप्लेजुङमा दुर्घटनापछि गम्भीर बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले अब हेलिकप्टरको लोड घटाउने भएको छ । प्राधिकरणले नेपालमा पछिल्लो समय भित्र्याइएका हेलिकोप्टरबाट एउटा सिट हटाएर यात्रु भार कटौती गर्ने निर्णय गरेको हो । प्राधिकरणले एएस३५०/एच१२५ माेडलका हेलिकोप्टरले अब ५ जना मात्रै यात्रु बोक्न पाउनेगरी निर्णय गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।

उनका अनुसार निर्माता कम्पनीले यस्ता हेलिकोप्टरमा ६ जना यात्रुसिट र एक पाइलटसिट गरी कुल ७ सिट राखेको हुन्छ । तर अब सामान्य अवस्थामा यी हेलिकोप्टरले ५ जना मात्रै यात्रु बोक्न पाउने गरी निर्णय भएको उनकाे भनाइ छ । यद्यपि हाई अल्टिच्युटमा भने यो क्षमतामा अझै हेरफेर गर्नुपर्ने हुन सक्छ । कम्पनी तथा पाइलटले नै अल्टिच्युड र मौसमको अवस्था हेरी लोड ब्यालेन्स गरेर यात्रु बोक्नुपर्ने नियम लागू गरिने भएको हो ।