पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण सुरु

  • प्रकाशित मिति : March 7, 2019
  • टुरिजम सञ्चार

म्याग्दी,फाल्गुन २३। म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण सुरु भएको छ । मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट बिम्बाङ हुदै मालिका जोड्ने सडक आयोजना सुरु गरेको हो ।

गाउँपालिकाले ५० लाख रुपैयाँ बजेटबाट उपभोक्ता समिति मार्फत सडकको ट्याक खोल्ने काम सुरु गरेको छ । गत वर्ष ८ लाख रुपैयाँमा बाइन्दफाँट देखि करिब दुई किलोमिटर माथि बिम्वाङ सम्म मोटर बाटो पुर्याइएको छ । यस वर्ष बिम्बाङको काउलेदेखि ६ किलोमिटर दुरीमा रहेको धौलागंगा भन्ने ठाउँसम्म सडक पुर्याउने  लक्ष्य राखिएको छ।

समुन्द्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित मालिकामा आन्तरिक पर्यटक र भक्तजन भित्र्याउने उद्देश्यले सडक निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।