भोलि देखि घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला सुरु

  • प्रकाशित मिति : March 6, 2019
  • टुरिजम सञ्चार

दिपेश बराल/काठमाडौं,फाल्गुन २२। नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा भोलि देखि सुरु हुँदै छ ।

“नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ फागुन २३ गतेदेखि २७ सम्म मेला आयोजना हुँदै छ।

उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन् ।

प्रदर्शनीमा नेपालका साथै भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ।