अब म्याग्दी हिमालि जिल्ला

  • प्रकाशित मिति : March 3, 2019
  • टुरिजम सञ्चार

म्याग्दी,फाल्गुन १९। ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५’ अन्तर्गत म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव रहेको छ । जुन विधेयक सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ ।

प्रतिनिधिसभा सदस्य एवं सांसद भुपेन्द्रबहादुर थापाका अनुसार जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै शनिबार राष्ट्रियसभाबाट प्रस्ताव स्वीकृत भएको हो । राष्ट्रपतिले प्रमाणित गरेपछि यो ऐन कार्यान्वयन हुने छ ।

राष्ट्रियसभाले प्रस्ताव स्वीकृत गरेकाले म्याग्दी अब हिमाली जिल्लामा सूचीकृत हुने निश्चित भएको भन्दै म्याग्दीको गुमेको भौगोलिक पहिचान स्थापित हुने भएको छ। आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्लाको पहिचान दिनुपर्ने आवाज उठ्दै आएको थियो ।

धवलागिरी गाउँपालिकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगङ्गाको कुइनेमङ्गले, चिमखोला, अन्नपूर्णको नारच्याङ र शिखको भूभाग, संसारको सातौँ अग्लो (८,१६७ मिटर) धवलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरासँगै मानापाथी, गुर्जा, चुरेन, पुथा, अन्नपूर्ण प्रथम, बराह शिखर, निलगिरि हिमालको दक्षिण र पूर्वी मोहडा म्याग्दीको भूगोलमा समेटिएको छ ।