महाशिवरात्रीको अघिल्लो दिन पशुपतिनाथमा जे देखियो

  • प्रकाशित मिति : March 3, 2019
  • टुरिजम सञ्चार

दिपेश बराल/काठमाडौ,फाल्गुन १९। आज हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अघिल्लो दिन । हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा विशेष चहलपहल शुरु भइसकेको छ । त्यहाँ भक्तालु र बाबाहरुको चहलपहल ह्वातै बढेको छ।

शिवरात्रीको केही दिन अघिदेखि नै नेपाल र भारतबाट विभिन्न भेषधारी बाबाहरु पशुपति आउने गर्दछन् । शिवरात्रीमा पशुपतिमा सयौँको संख्यामा बाबाहरु आउने गर्छन् । यसपटक शिवरात्री यही फागुन २० गते सोमबार अर्थात भोली परेको छ।

शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको पशुपति विकास कोषले जनाएको छ। शिवरात्रीको विशेष आकर्षण मानिदै आएका बाबाहरुको आगमन यो बर्षपनि उल्लेखनीय छ । यसैले पशुपतिमा खास उल्लास छाईसकेको छ ।

पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । भिडभाडमा चोरी र लुटपाट हुन सक्ने भन्दै गरगहना नलगाइ मन्दिर दर्शनका लागि आउन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ ।

कोषले पशुपति नाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक-एक गरी दुई वटा लाइनको व्यवस्था व्यवस्था मिलाइएको छ ।

यसैगरी जयवागेश्वरी-इट्टापाखा-भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एउटा लाइनको व्यवस्था छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

यस्तै बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान-सुमार्गी भवन-चारशिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक-एक गरी दुई लाइनको व्यवस्था पनि मिलाएको छ ।

पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने कोषले जनाएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न संघसंस्थाका पाँच हजार स्वयंसेवक खटाइने छ ।