पाेखरा विमानस्थलकाे नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ राख्न माग

  • प्रकाशित मिति : March 3, 2019
  • टुरिजम सञ्चार

पोखरा,फाल्गुन १९ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम स्व रवीन्द्र अधिकारीको नाममा राख्न यहाँका पर्यटन व्यवसायीहरुले माग गरेका छन् ।

पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले एक विज्ञप्ती निकाल्दै सो विमानस्थललाई स्व अधिकारीको सम्झनामा ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग गरेको छ ।

परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले स्व अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता रहेको र उनकै पहलमा पोखरा विमानस्थलको निर्माण कार्यले गति लिएको भन्दै उनको सम्मानमा रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गर्नुपर्ने बताए ।

स्व अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन ठूलाे भूमिका खेलेकाे र संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएको स्मरण गर्दै परिषदले उनको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएको छ ।