काठमाडौं,फाल्गुन १५ । देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण उपत्यकासहित देशभर केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी भागका अधिकांश स्थानमा भने पानी परिरहेको छ । काठमाडौं उपत्यकामा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने र पानी पर्ने मौसमविदको पूर्वानुमान छ । पश्चिमी भागका अधिकांश स्थानमा भने पानी परिरहेको छ ।
पश्चिम, मध्य र पूर्वी भागका उच्च स्थानमा हिमपात पनि भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य, पश्चिम र पूर्वी भूभागको मौसम बिहीबार बेलुकीसम्म बदली हुने पूर्वानुमान छ । शुक्रबारबाट मौसममा क्रमिक सुधार आउने मौसमविदले बताएका छन ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पुनः हिमपात शुरु भएको छ । पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो ।
हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न स्थानीयलाई समस्या भएको छ ।