पशुपतिबाट हराएको गोरखनाथको मूर्ती फेला पर्यो

  • प्रकाशित मिति : February 27, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन १५। काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हरायको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीले आजा फेला पारेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायब निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौं महानगरपालिका-८ स्थित पशुपतिनाथको मन्दिरबाट करीव तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा अपरान्ह करीव पौने पाँच बजे उक्त मूर्ती फेला पारेको हो । सो मूर्ती करीव ३५ के.जी. तौलको रहेको छ ।

गस्तीमा रहेको एपीएफ टोलीले त्यस ठाउँमा रहेको खरानीको रुखको जराभित्र वडार जस्तो ठाउँबाट सो मूर्ती बरामद गरेको हो ।

पारिपट्टि डाडाँबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई जना व्यक्तिहरु उक्त मूर्ती छाडी भागेका थिए । सो मूर्ती उक्त वडार जस्तो ठाउँमा बालुवाले पुरेर राखेको अवस्थामा भेटिएको हो । उक्त मूर्ती एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ ।

सो ठाउँ गोपाल बाबाको आश्रम भन्दा माथि रहेको चिहान डाडाँमा रहेको छ । उक्त मूर्ती फेला परेपछि एपीएफ टोलीले पशुपति क्षेत्र विकास कोषलाई समेत तत्कालै जानकारी गराएको छ ।