पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अबको दुई वर्षमै अन्तर्राष्ट्रिय उडान :अधिकारी

  • प्रकाशित मिति : February 24, 2019
  • टुरिजम सञ्चार

पोखरा,फाल्गुन १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अबको दुई वर्षमै अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् ।

विमानस्थलको निर्माण कार्य तीव्रगतिमा भइरहेको बताउँदै मन्त्री अधिकारीले पोखराबाट सिधै विदेश उडान गर्नका लागि बढीमा दुई वर्ष पर्खनुपर्ने बताएका हुन् ।

शनिबार पोखरा महानगरपालिका–३३ तल्लो पूर्णीस्थित भुलभुला आधारभूत विद्यालयको ५६ औँ वार्षिकोत्सव समारोहको उद्घाटनपश्चात बोल्दै मन्त्री अधिकारीले विमानस्थलको धावनमार्ग र ट्याक्सी पार्किङ निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।