फेरिदै राँकेको चिनारी

  • प्रकाशित मिति : February 22, 2019
  • टुरिजम सञ्चार

पाँचथर,फाल्गुन १०। पाँचथर र इलामको सीमावर्ती राँके बजार यस क्षेत्रको पुरानो बजार हो। मेची राजमार्ग यही बजार हुँदै गएको छ। बाह्रै महिना चिसो र हुस्सुसँग लुकामारी खेलिरहनु राँके बजारको विशेषता नै हो।

पछिल्लो समय राँकेको पहिचान माथि उल्लिखितबाहेक अन्यले वस्तुले पनि बनाउँदैछ। होटल र किराना पसलमा सजाएर बिक्रीका लागि राखिएका अकबरे खुर्सानीले भरिएका बट्टाले यहाँको पहिचान नै फेरिदिएको हो।

पाँचरको चिलिङ्देन, फाक्तेप, पौवासारतापसँगै छिमेकी इलामको फाकफोकथुम क्षेत्रमा उत्पादित अकबरे खुर्सानीको बिक्री केन्द्र नै राँके हो। यहाँका खुर्सानी रसिलो, पीरो र वास्नादार हुन्छन्।

राँके बजारमा अकबरेपछि ललीपप (दूधबाट बनेको मिठाइ) बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन्। यस्तै, बदाम, कागती, किवी, छुर्पी र घीउको बिक्री राम्रो रहेको छ।