काठमाडौं,फाल्गुन १०।काठमाडौंको भिडभाड, व्यस्त दैनिकी र धुलाम्य सडकबाट केही छुटकारा लिन चाहनेहरुका लागि काठमाडौंमा एउटा गज्जबको ठाउँ छ, गार्डेन अफ ड्रिम्स अर्थात स्वप्नबगैँचा ।
काठमाडौंको ठमेलसँगै केशरमहलमा अवस्थित गार्डेन अफ ड्रिम्स जति मिठो नाम छ, त्यति आकर्षक, मनमोहक र शान्त पनि छ । प्रतिव्यक्ति १०० रुपैयाँको टिकट काटेर गार्डेनमा दिनभर घुम्न पाइन्छ ।
यस गार्डेन नेपालीका साथै विदेशी पर्यटकको रोजाइमा पर्ने गर्छ । नेपालीका सथै विदेशी पर्यटकहरुले गार्डेनमा आनन्द लिइरहेका देखिन्छन् । काठमाडौंबासीलाई मन बहलाउने गतिलो विकल्प हो गार्डेन अफ ड्रिम्स ।
यो ऐतिहासिक र पर्यटकीय बगैंचालाई प्राकृतिक संग्रहालय पनि भनिन्छ। सन् १९२० मा नेपाली सेनाका फिल्ड मार्शल केशरशम्शेर जबराले निर्माण गरेको वगैंचा वेलायती राजा किङ एडवार्ड सातौंको बगैंचाबाट प्रभावित छ। केशरशम्शेरको मृत्युपछि सरकारलाई हस्तान्तरण गरिएको यो पार्क पुनर्निर्माणपछि २०६४ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।
मायालु जोडी मस्त गफमा व्यस्त देखिन्छन् । अध्ययन गर्नेहरु अध्ययनमा डुबिरहेका हुन्छन् । ध्यान गर्नेहरु ध्यानमा मग्न हुन्छन् । तस्विर खिच्नेहरु विभिन्न पोजमा ढल्किँदै तस्विर खिचिरहेका हुन्छन् । कोही सेल्फी क्लिक गर्नमा व्यस्त हुन्छन् । ससाना बालबच्चादेखि वृद्धवृद्धा रमारहेका देखिन्छन्, गार्डेनभित्र ।