गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल असारदेखि सञ्चालनमा आउने

  • प्रकाशित मिति : February 22, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,फाल्गुन १०। हामीसँग जम्मा एउटा अन्तर्राष्ट्रिय विमानस्थल छ त्रिभुवन विमानस्थल । त्यहाँ पनि बेलाबखत कुनै समस्या आउँदा हवाई उडान नै बन्द हुन्छ । यस्तो हुँदा अन्तर्राष्ट्रिय विमान उडान कार्यतालिका प्रभावित हुन्छ । २ नम्बर प्रदेशको बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, ४ नम्बर प्रदेशको पोखरामा पनि अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने सपना बुनिएको छ । ५ नम्बर प्रदेशको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको छ ।

बौद्ध धर्मावलम्बीको आश्थाको धरोहर गौतम बुद्धको जन्मस्थल भैरहवामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजना साकार हुँदैछ । एयर बस ३४० र बोइङ ७७७ विमानसमेत अवतरण गर्न सकिने गरी विमानस्थल निर्माण भइरहेको छ । निर्धारित समयमा विमानस्थल निर्माण सकिँदैछ । अन्तर्राष्ट्रिय उडानको तयारी हुँदैछ ।

२०७६ असारदेखि सञ्चालनमा ल्याउने तयारी छ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको । त्यसैले दुई सिफ्टमा काम भइरहेको छ । समयमा काम सकाउने चटारो पनि छ । विमानस्थल निर्माणसँगै विश्वका बौद्धमार्गीलाई सिधै भैरहवा अर्थात् गौतम बुद्धको जन्मथलोमा उतार्ने महत्वाकांक्षी योजना पनि छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि विश्वका विभिन्न देशहरुले रुची देखाएका छन् । भारतसँग समन्वय गरेर उडान गर्ने सरकारको योजना छ । विमानस्थल सञ्चालनको मोडल कस्तो हुने भनेर निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हाम्रो निकै महत्वाकांक्षी सपना हो । हामीसँग भएको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नु नै थियो । भैरहवामा बौद्धमार्गीलाई सिधै उतार्न सकिने गरी निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा ५ नम्बर प्रदेशमा हुने पर्यटकीय विकासमा पनि विमानस्थलको भूमिका अतुलनीय हुने छ ।

अर्कातर्फ आगामी ९ वर्षमा ६० लाख पर्यटक भित्र्याउने सपना बुनिरहँदा यसले ५ नम्बर प्रदेशमा, सिंगो देशमा अनि बौद्धमार्गीको आयाममा पुग्ने सहयोग, योगदानको आँकडा चानचुने हुनेछैन । त्यसैले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि राज्यले ढिलाइ नगरोस् ।