ज्यामरुककोट जहाँबाट ७ ओटा हिमाल र ३० बढी गाउँ देखिन्छ

  • प्रकाशित मिति : February 17, 2019
  • टुरिजम सञ्चार

म्याग्दी,फाल्गुन ५। म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित ज्यामरुककोटको भकुण्डेबाट सातवटा हिमाल र ३० भन्दा बढि गाउँ आँखै अगाडी देख्न सकिन्छ ।
पर्यटकीय,जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहाँसिक र पुरातात्विक स्थल ज्यामरुककोट प्रशस्तै प्राकृतिक सौन्दयले युक्त भएर पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।

सदरमुकाम बेनीबजारदेखि करिव ४ किलोमिटरको दुरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण,माछापुच्छ«े लगाएत ७ वटा भन्दा बढि हिमश्रृङखलाहरुको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटा भन्दा बढि गाउँहरु, सुर्योदय, ग्रामिण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको भएपनि कसैले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहाँसिक स्थल गुमनाम रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

ऐतिहाँसिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण ज्यामरुककोटमा भौतिक पुर्वाधारहरुको निर्माण गर्नेहो भने वर्षेनी सयौं पर्यटकहरु त्यहाँ पुग्न सक्ने सम्भावना रहँदारहँदै पनि स्थानीय र सरोकारवाला निकायले कुनै पहल गर्न नसकेको स्थानीय वुद्धिजीविहरुले वताएका छन् ।